काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ५० शाखा बन्द गर्न नलागेको जनाएको छ । बैंकबारे सञ्चारमाध्यममा आएको ५० शाखा बन्द हुन लागेको र त्यसको स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिइसकेको भन्ने समाचारको खण्डन गर्दै बन्द हुन नलागेको स्पष्ट पारेको हो ।
बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने बैंकको रणनीति तथा योजना नरहेको र ५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष निवेदन दिएको विषय कपोलकल्पित तथा भ्रामक रहेको तथ्य यसै प्रेस विज्ञप्तिमार्फत स्पष्ट पार्न चाहन्छौं ।’
बैंकका हाल ३६० शाखा कार्यालय, ६७० एटिएम, ११५ वटा विस्तारित काउन्टर र ५१ वटा शाखा रहित बैंकिङ्ग सञ्जाल छ । मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी बैंक सञ्चालन हुँदै आएको नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google