काठमाडौं । आइसिसी विश्वकप लिग–२ को अन्तिम त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नेपालले युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजेबाट सुरू हुने खेलमा उच्च फर्ममा रहेको नेपालले युएईलाई हराउँदै तालिकाको चौथो स्थानमा उक्लिन चाहन्छ । यो सँगै नेपालले आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गर्नेछ ।
सात देश सहभागी विश्वकप लिग टु क्रिकेटमा नेपाल अहिले ३३ खेलबाट ३४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । समान खेलबाट ३१ अंक जोडेको युएई छैटौ स्थानमा छ भने ११ अंक जोडेको पीएनजी सातौं स्थानमा रहेको छ ।
पहिलो खेलमा पिएनजीसँग पराजित भएको युएईलाई शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ ।
लिगका पछिल्ला ९ मध्ये ८ खेलमा नेपालले जित हात पारेको छ। घरेलु मैदानमा भएका पछिल्ला पाँच खेलमा नेपाल अपराजित छ ।
नेपाललाई सोझै विश्वकप छनोट खेल्न बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ। युएई भने शीर्ष तीनको दौडबाट बाहिरिसकेको छ ।
विश्वकप लिग टु क्रिकेटमा आफ्ना सबै खेल सकाएको स्कटल्याण्ड ५० अंकसहित च्याम्पियन बन्दा ४४ अंकसहित ओमान दोस्रो, ३९ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छन् । यस्तै ३५ अंक जोडेको अमेरिकाले पनि आफ्ना सबै खेल सकाएको छ ।
नेपाल, युएई र पीएनजीबीचको काठमाडौंमा जारी अन्तिम सिरिज पछि चार वर्ष लामो विश्वकप लिग टु क्रिकेट सकिनेछ ।
यो प्रतियोगिताको शीर्ष तीनमा पर्ने टोलीले जिम्बाबेमा हुने विश्वकप छनोटमा सोझै पुग्नेछन् । पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ । यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google