काठमाडाैँ । नेपाल फुटबल संघ (एन्फा) ले काठमाडौंमा आगामी सातादेखि हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टिम घोषणा गरेको छ । प्रशिक्षक राजेन्द्र तामाङले बिहीबार २३ सदस्यीय टोली सार्वजनिक गरेका हुन् । एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा टिम घोषणा गरिएको छ । २३ सदस्यीय टिममा दुई जना नयाँ खेलाडीले मौका पाएका छन् ।
टोलीमा तीन गोलकिपर छन् । कप्तान एन्जिला, अन्जना राना मगर र उषा नाथ गोल किपर हुन् । त्यस्तै डिफेन्डरमा अमृता जैसी, गिता राना, बिमला बिक, पुजा राना, निशा थोकर, समीक्षा घिमिरे, बिमला चौधरी र मनमाया दमाइ चयन भएका छन् ।
मिडिफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता रानामगर, रेनुका हमाल र सुष्मा तामाङ छन् । फरवार्डमा साबित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी छन् ।
डिफेन्डर मनमाया दमाइ र मिडफिल्डर सुष्मा तामाङ पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् । विदेशी क्लब फुटबल खेल्न देश बाहिर रहेकी कप्तान एन्जिला बुधबार नेपाल फर्किएकी छिन् । सावित्रा भण्डारी रेखा केही दिनमा आउने जनाइएको छ ।
आगामी फागुन ५ देखि एन्फाको आयोजनामा दशरथ रंगशालामा नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित महिला फुटबल प्रतियोगिता हुँदै छ । नेपालमा पहिलोपटक चारदेशीय महिला फुटबल प्रतियोगिता हुन लागेको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google