काठमाडाैं । नेपालले क्यानडाविरुद्ध तीन एकदिवसीय खेलको शृखला क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो खेलमा नाै विकेटकाे सानदार जित निकाल्दै नेपालले शृंखला क्लिन स्वीप गरेको हो ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले दिएको २ सय ३३ रनको लक्ष्य नेपालले ३३ बल बाँकी छँदै पूरा गर्यो । आजको खेलमा नेपाललाई जिताउन ओपनर अनिल साह र भीम सार्की नायक बने । दुवैले सानदार शतक प्रहार गरे ।
साह १ सय २४ बलमा १ सय १२ रन तथा सार्की १२९ बलमा १ सय १ रन बनाएर नटआउट रहे । पारीमा साहले १२ चाैका र २ छक्का हिर्काए । सार्कीले ११ चाैका र एक छक्का प्रहार गरे । उनीहरूले दोस्रो विकेटका लागि १ सय ८९ रनको साझेदारी गरेका थिए । यो साझेदारी नेपालको एकदिवसीय इतिहासमा कुनै पनि विकेटका लागि अहिलेसम्मको ठूलो हो । यस अघि कुशल भुर्तेल र आसिफ सेखले जिम्बाबेविरुद्ध पहिलो विकेटका लागि १ सय ७१ रनको साझेदारी गरेका थिए ।
आजकाे खेलमा नेपालका ओपनर कुशल भुर्तेल १४ बलमा तीन चाैकाकाे मद्दतले १३ रन बनाएर आउट भए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ स ३२ रन बनाएकाे थियाे । एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका नेपालका हेमन्त धामीले तीन विकेट लिए ।
८ ओभर बलिङ गरेका उनले ४९ रन खर्चिएर तीन विकेट लिएका हुन् । नेपालका लागि कुशल मल्लले दुई विकेट लिए । १० ओभर बलिङ गरेका मल्लले १ ओभर मेडन राख्दै ३८ बल खर्चिए ।
त्यस्तै, १० ओभर बलिङ गरेका ललित राजवंशीले एक ओभर मेडन राख्दै ३१ रन खर्चिएर १ विकेट लिए । ८ ओभर नै बलिङ गरेका आकाश चन्दले ५१ रन खर्चिएर १ विकेट हात पारे । क्यानडाका एक खेलाडी रनआउट भए ।
ब्याटिङतर्फ क्यानडाका नवनीत धलिवालले अर्धशतकीय पारी खेले उनले ८२ बलको सामना गर्दै ५ चौकाको मद्दतले ५० रन जोडे। त्यस्तै निखिल दत्तले ४५, सिरमान्था विजयरत्नेले २२, श्रेयस मुब्बाले २५ रन जोड्दा साद विन जाफरले नटआउट ३१ रन जोडे । एरोन जोनसन ४ रनमा आउट हुँदा निकोलस किर्तोनले ३ र डिलोन हेलिगरले ४ रन जोडे भने साहिद अहमजाइ ५ रनमा नटआउट रहे ।
यसअघि पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google