काठमाडौं । एकदिवसीय शृङ्खलाको पहिलो खेलमा बिहीबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुँदै छ । खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:१५ बजेदेखि सुरु हुनेछ । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले पहिलो पटक क्यानडासँग घरेलु मैदानमा शृङ्खला खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ को शृङ्खला सुरु हुनुअघि नेपाल र क्यानडाले तयारीस्वरूप तीन खेलको शृङ्खला खेल्न लागेका हुन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देसाइले क्यानडाविरुद्धको एकदिवसीय शृङ्खला रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने विश्वास व्यक्त गरेका छन् ।
पछिल्लो समय क्यानडाले अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेको छ । नेपाली टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पदबाट राजीनामा दिएर क्यानडाको मुख्य प्रशिक्षक बनेका थिए । उनै पूर्व प्रशिक्षकविरुद्ध नेपाली टोली मैदानमा उत्रिन लागेको हो ।
क्यानडाले आईसीसी टी–२० विश्वकप अमेरिका क्षेत्र छनोटको विजेताको रूपमा पहिलो पटक टी–२० विश्वकपमा स्थान बनाएको छ ।
नेपाल र क्यानडाबीचको ३ खेलको ओडीआई सिरिज माघ २५ देखि २९ गतेसम्म टीयू क्रिकेट मैदानमा हुने छ । क्यानडाविरुद्ध बायाँ हाते फास्ट बलर रजन ढकालसहित हेमन्त धामी र आकाश चन्दलाई पहिलो पटक टिममा बोलाइएको छ । रजन लिग टु खेल्ने टोलीमा समेत छन् ।
नेपालले आईसीसी विश्वकप लिग टु को पहिलो सिरिजअन्तर्गत फागुन ३ देखि १२ गतेसम्म नामिबिया र नेदरल्याण्ड्ससँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्ने छ ।
नेपालको घोषित टोलीमा कप्तान रोहितका अतिरिक्त असिफ शेख, कुशल भुर्तेल, देब खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google