काठमाडौं । भारतले एशिया कपको उपाधि जितेको छ । फाइनल खेलमा श्रीलंकाले दिएको ५१ रनको लक्ष्य पछाएको भारतले ६.१ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गर्दै एशिया कपको उपाधि जितेको हो । भारतका लागि शुभमन गिलले अविजित २७ रन बनाए भने इशान किशनले २३ रन बनाए ।
यसअघि कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा फाइनल खेलमा भारतविरुद्ध टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंका १५.२ ओभरमा अल आउट हुदै ५० रन मात्र बनाएको थियो ।श्रीलंकाका एकदिवसीय अन्तर्राष्ट्रिय खेलको इतिहासमा यो दोस्रो कम टोटल हो । यस अघि श्रीलंका २०१२ मा दक्षिण अफ्रिकाविरुद्ध ४३ रनमा अल आउट भएको थियो ।
यस खेलमा श्रीलंकाका कुसल मेन्डीसले १७ तथा दुशान हेमान्थाले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यस्तै श्रीलंकाको ब्याटिंग लाइन ध्वस्त बनाउन भारतीय बलर मोहमद सिराजले सर्बाधिक ६ विकेट लिए । सिराजले ७ ओभरमा एक मेडनसहित २१ रन दिएर ६ विकेट लिएका थिए त्यस्तै हार्दिक पाण्डेयले २.२ ओभरमा ३ रन दिएर ३ विकेट लिएका थिए । त्यसैगरी हार्दिक पाण्डेयले ३ तथा जसप्रित बुमराहले एक विकेट लिएका थिए ।
योसंगै भारतले आठौँ पटक एशिया कपको उपाधि जितेको छ । भारतले यसअघि ७ एकदिवसीय र एक टी-२० एशिया कपको उपाधि जितेको थियो । भारतले २०१६ मा टी-२० फर्म्याटको एशिया कप जितेको थियो भने १९८४, १९८८, १९९०-९१, १९९५, २०१० र २०१८ मा एकदिवसीय फर्म्याटको एशिया कप जितेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google