काठमाडौं । मुस्कान ढकालको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘पञ्चामृत’ मा अभिनेत्री आँचल शर्मा भित्रिएकी छन् । उनलाई निर्माण पक्षले चलचित्रको मुख्य अभिनेत्रीको रुपमा भित्र्याएको हो । उनीसँगै चलचित्रमा अभिनेता धिरज मगरलाई समेत भित्र्याइएको छ । चलचित्रमा यसअघि अभिनेता सौगात मल्ल, अभिनेत्री निरुता सिंह, बिपना थापा, उत्तम प्रधान र मिथिला शर्मा लगायतका कलाकारलाई अनुबन्धित गरिसकिएको छ ।
अभिनेता धिरज र अभिनेत्री आँचल भित्रिएसँगै चलचित्रमा कलाकारको लाइनअप बलियो भएको छ । चलचित्रमा आँचलको जोडी धिरज रहने छन् । उनीहरुले पहिलो पटक यो चलचित्रमा एकसाथ काम गर्न लागेका हुन् । भदौबाट छायांकनमा जाने तयारीमा रहेको यो चलचित्र आध्यात्मिक–लभस्टोरी कथावस्तुमा बन्ने जनाइएको छ ।
निर्देशक मुस्कान तीनवटा च्याप्टरमा चलचित्र निर्माण गर्ने तयारीमा छन् । उनले तीन वर्ष लगाएर चलचित्रको स्क्रिप्ट तयार पारेको जनाइएको छ । चलचित्र ‘नाईं नभन्नू ल ३’ बाट निर्देशनमा हात हालेका ढकालले पछिल्लो समय चलचित्र ‘समर लभ’ बनाएका थिए । यो चलचित्र बनाएको पाँच वर्षपछि उनले पुनः चलचित्र निर्देशनमा हात हाल्न लागेका हुन ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google