काठमाडौं । हास्य कलाकार तथा अभिनेता शिवहरि पौड्याल (मुखमा हान्नु जस्तो) ले नयाँ टेलिश्रृखला (टेलिसिरियल) ‘हिस्स बुढी खिस्स दाँत’ सुरु गरेका छन् । विगत लामो समयदेखि कलाकारिताको क्षेत्रमा योगदान गरेका पौड्यालले कमेडी टेलिसिरियल ‘हिस्स बुढी खिस्स दाँत’ सुरु गरेका हुन् । यो सिरियलको चारवटा भाग (एपिसोड) सार्वजनिक भइसकेको छ, भने नयाँ एपिसोडको छायांकन धमाधम भइरहेको छ ।
टेलिसिरियल ‘हिस्स बुढी खिस्स दाँत’ मा धेरैजसो पुराना हास्यकलाकारहरुको अभिनय देख्न सकिन्छ, भने केही नयाँ पनि छन् । चर्चित टेलिसिरियल ‘जिरे खुर्सानी’को समेत निर्देशन गरेका शिवहरिले नै यो सिरियलको निर्देशन तथा लेखन गरेका हुन् । सामाजिक विषयवस्तुमा केन्द्रीत रही कमेडीमार्फत देश तथा समाजमा घटेका घटनालाई उजागर गएिको यस सिरियलमा राजाराम पौड्याल, लय संग्रौला, शिवहरि पौड्याल, अंशु महर्जन, धनराम मुस्कान, कमला रेग्मी, विनोद केसी, मनिषा श्रेष्ठ, उदय भण्डारी, सुष्मा सापकोटा, पवन अधिकारी, इश्वर पौडेल, पुस्कर पन्तलगायतको अभिनय रहेको छ । यस सिरियलको प्रमुख सहायक निर्देशक तथा सम्पादक नेत्रप्रसाद अधिकारी (भीमसेन) रहेका छन् ।
‘हिस्स बुढी खिस्स दाँत’ टेलिफिल्म मुखमा हान्नु जस्तो नामको युट्युब च्यानल मार्फत सार्वजनिक हुने गरेको छ । टेलिश्रृखलाको शीर्ष गीतमा
किरण केसी, शिवहरि पौड्याल, बाबुल गिरीकाे स्वर रहेकाे छ, भने गीतको कम्पोज तथा एरेन्ज बाबुल गिरीले गरेका हुन् । मेकअपमा मोहन लामा र विश्वराम केसी (हापु) रहेका छन्, भने भिडियो प्रवेश पोखरेल र ज्ञानकुमार कट्टेलले खिचिरहेका छन् ।
हास्य कलाकार तथा निर्देशक शिवहरि पौड्याल नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी समेत हुन् । उनले दर्जनौं फिल्म तथा टेलिफिल्ममा अभिनय गरिसकेका छन् । दुई दशकअघि टेलिश्रृंखला ‘देवी’ मा ‘पूर्णे’को पात्र निभाएपछि दर्शकमाझ परिचित भएका उनी पुराना दर्शकमाझ अझै त्यहीं पात्रबाट चिनिन्छन् । यद्यपि उनी आफैँले लेखन तथा निर्देशन गरेको हास्य टेलिश्रृंखला ‘जिरे खुर्सानी’ने उनलाई झनै परिचित गराएको थियो । सो टेलिश्रृंखलाको एउटा थेगो थियो, ‘प्वाक्क मुखाँ हान्नु जस्तो’ नै अहिले सम्म चर्चित छ । यहीं नामको उनले युट्युब च्यानल पनि बनाएका छन् । टेलिफिल्म तथा फिल्ममा समेत उनले लेखन तथा निर्देशन गरेका छन् । पछिल्लो समय उनले निर्देशन गरेको फिल्म ‘लक्का जवान’ प्रदर्शन भइसकेको छ ।