
काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र आगामी वर्ष २०८१ को माघ ११ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारी गरिरहेको निर्देशक मिलन चाम्सले जानकारी दिए ।
चलचित्रमा गोलकिपर एञ्जिला स्वयंको मुख्य भूमिका छ । उनीसँगै अभिनेता दयाहाङ राई, अभिनेत्री मिरूना मगर, सिर्जना सुब्बा, बुद्धि तामाङ, विजय बराल, माओत्से गुरुङ, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तानलगायतका कलाकारको अभिनय छ ।
चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठको पनि प्रमुख भूमिका छ । चलचित्रमा एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको कथालाई उधिनिएको छ । साथै उनले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको विषयलाई चलचित्रमा उठान गरिएको निर्देशक चाम्सले बताए । निर्माता श्रेष्ठका अनुसार चलचित्रमा एञ्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथा समेटिएको छ ।
उनले १४ वर्षदेखि एञ्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका शिक्षा–दीक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर एञ्जिलालाई मोरङबाट काठमाडौं ल्याएका थिए । एञ्जिलाको संघर्ष र सफलताको कथाले धेरैलाई प्रेरणा दिने भएरै चलचित्र बनाएको सुनाए । चलचित्र एञ्जिलाकै जन्मथलो इलामको आइतबारेसहित झापा र काठमाडौंमा छायांकन गरिएको छ । सुदीप बरालको डिओपी रहेको यस चलचित्रका सम्पादक मिलन श्रेष्ठ हुन् ।