हैदरावाद । बलिउड अभिनेत्री उर्वशी रौतेला फिल्मको सुटिङका क्रममा गम्भीर घाइते भएकी छन् । हैदरावादमा सुटिङको क्रममा उनको हात भाँचिएपछि अस्पतालमा भर्ना गरिएको भारतीय समाचारमाध्यमले उल्लेख गरेका छन् ।
उर्वशी रौतेला हैदराबादमा नन्दमुरी बालकृष्णको आगामी तेलुगु फिल्म ‘एनबीके १०९’को सुटिङ गरिरहेकी थिइन् । यो फिल्मको एक्सन सिक्वेन्सको सुटिङका क्रममा उनी गम्भीर घाइते भएकी हुन् ।
यतिबेला उनी चोटका कारण निकै चिन्तित रहेको बताइएको छ। हाल उनको अस्पतालमा उपचार भइरहेको छ । पूर्ण रूपमा निको भएपछि उर्वशीले फेरि सुटिङ सुरु गर्नेछिन् ।
यो फिल्म तेलुगु सुपरस्टार नन्दमुरी बालकृष्णको १०९औँ फिल्म हो । त्यसैले फिल्मको अस्थायी शीर्षक ‘एनबीके १०९’ राखिएको छ ।
बबी कोल्लीले निर्देशन गरेको फिल्मको सुटिङ गत नोभेम्बरमा सुरु भएको थियो । यस फिल्ममा उर्वशीसहित बबी देओल, प्रकाश राज र दुल्कर सलमानको पनि अभिनय छ । जहाँ नन्दमुरी बालकृष्ण मुख्य भूमिकामा छन् ।