काठमाडौं । लोकप्रिय गायिका मल्लिका कार्कीको नयाँ तीज गीत ‘रातै सारी, रातै टिका...’ सार्वजनिक भएको छ । गीतकार किरण केसी ‘क्रोधी’को शब्द रहेको सो गीतको कम्पोजर ताराप्रकाश लिम्बु रहेका छन् । गीतको भिडियोमा प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय तथा नृत्य रहेको छ । म्युजिक नेपालबाट गीतको भिडियो सार्वजनिक गरिएको छ ।
यसअघि पनि गायिका मल्लिका कार्कीका ‘लाजको लाली’, ‘यति धेरै मान्छेहरुको भीडमा’ जस्ता अधिकांश गीत चर्चित छन् । गायक उदितनारायण झासँग ‘लाजको लाली’ गाएर सांगीतिक यात्रामा ‘टर्निङ प्वाइन्ट’ लिएकी मल्लिका देश–विदेशकै कार्यक्रममा व्यस्त छिन् ।
२०६५ सालमा ‘मल्लिका’ नामक एल्बम ल्याएर सांगीतिक क्षेत्रलाई पेसाका रुपमा अँगालेकी मल्लिकाले हालसम्म ८ सय भन्दा बढी गीत गाइसकेकी छन् ।
‘मल्लिका’ पछि एक दशकको अन्तरालमा ‘मौसम’ नामक सोलो एल्बम सार्वजनिक गरेकी थिइन् । मल्लिकाले सांगीतिक कार्यक्रमकै दौरानमा खाडीलगायत युरोप र अमेरिकामा अधिकांश मुलुकमा पुगेर प्रस्तुती दिइसकेकी छिन् । ।