काठमाडाैं । अभिनेत्री करिश्मा मानन्धर पछिल्लो समय एउटा विज्ञापनका कारण विवादमा परेकी छन् । कैयौं फिल्ममा उम्दा अभिनय गरेकी करिश्माले केही दिनअघि ‘बोस सोलार वाटर हिटर’को विज्ञापनमा गरेको अभिनय र बोलीका कारण उनी आलोचित भएकी हुन् । कतिले उनलाई यस्तो सस्तो विज्ञापनमा काम नगर्न सुझावसमेत दिएका छन् ।
धेरैले उक्त भिडिओमा करिश्माको संवाद सुनेर हाँसो र लाज लागेको टिप्पणी गरेका छन्। आफ्नो अभिनय सामाजिक सञ्जालमा हाँसोकाे विषय भइरहँदा मौन रहेकी करिश्माले बल्ल जवाफ दिएकी छन् ।
उनले उक्त विज्ञापनमा आफ्नो कुनै पनि हात नभएको उल्लेख गरेकी छन् ।
करिश्मा लेख्छिन्, ‘हालसालै मैले गरेको बोस सोलार वाटर हिटरको विज्ञापनका लागि आइरहेका कमेन्ट र बनिरहेका अनलाइन न्युजहरुमा मेरो ध्यानाकर्षण भएको छ । बोस सोलार वाटर हिटरसँग जोडिएको दुई वर्ष भयो, यसका विभिन्न सामग्रीको म प्रशंसक हुँ र आफ्नो नयाँ निर्माण हुँदै गरेको भवन र रेस्टुरेन्टमा बोस सोलारकै सामग्री जडान गर्दै छु ।
कलाकारका नाताले आफ्ना प्यारा दर्शक झुक्याउने मनसाय कहिल्यै रहेन। गल्ती मानिसबाटै हुने हो ! यसको प्रचारको काममा मेरो उपस्तिथि रहने भए पनि प्रचार निर्माण सामग्रीमा मेरो हात हुँदैन। सुझावसम्म दिन सकिन्छ, जुन निर्माण पक्षले लिन पनि सक्नुहुन्छ, नलिन पनि सक्नुहुन्छ ।
मेरो काम भनेको भनेअनुसार गर्ने हो। तर यहाँहरुको यी प्रतिक्रियाबाट प्रेरित हुँदै यसबारे बनेका अन्य सबै विज्ञापनहरु बोसका आधिकारीहरुसँग मेरो पनि सक्रियता रहने जानकारी गराउन चाहन्छु । सो विज्ञापनको पनि सुधार अवश्य हुनेछ । यहाँहरुको प्रतिक्रियालाई असाध्यै सकारात्मक रुपमा लिएको छु । करिश्माको हरेक क्रियाकलापलाई चासोका साथ हेरेर साथ र सुधार्ने मौका दिनुभएकोमा आभारी छु ।’
उनले अन्त्यमा हाँसेको इमोजीसहित लेखेकी छन्, ‘कहिलेकाहीँ हाँस्नु पनि पर्छ ।’