काठमाडौँ । धीरज मगर र उपासना सिंह ठकुरीको शीर्ष भूमिका रहेको फिल्म ‘खुस्मा’ ३ असोजबाट प्रदर्शनमा आउँदै छ । धीरज र उपासनाको यो पहिलो सहकार्य हो । यसमा उनीहरू प्रेमी र प्रेमिकाको भूमिकामा रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । छायांकनका दैरान खिचिएका प्रेमिल तस्बिर उपासनाले सामाजिक सञ्जालमा राखेपछि उनीहरूको प्रेम सम्बन्धको ‘गसिप’ले पनि चर्चामा छ ।
प्रेम प्रसंगको प्रश्नले लर्बराए पनि उपासनाले उक्त कुरा स्वीकार गरेकी छैनन् । यस विषयमा धीरज पनि मौन छन् । यो फिल्ममा धीरजभन्दा पहिला उपासना अनुबन्ध भएकी हुन् । आफैँले नायकको भूमिकामा धीरजलाई सिफारिस गरेको उपासना बताउँछिन् ।
यद्यपि उनकै सिफारिसले मात्रै धीरज फाइनल भएका होइनन् । निर्देशक एवं लेखक अशोक थापा भन्छन्, ‘मैले धीरज र उपासनालाई सम्झेर फिल्म लेखेको हुँ । उपासनाले सोध्दा पनि धीरज ठीक हुन्छ भनेको थियो ।’
धीरजलाई पनि उपासनासँग सहकार्य गर्न मन रहेछ । धीरजका अनुसार ५ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘कबड्डी–३’ हेरेपछि उपासनासँग सहकार्य गर्ने इच्छा पलाएको हो ।
‘खुस्मा’बाट धीरज र उपासनाको एकअर्काबीच सहकार्य गर्ने इच्छा सफल भएको छ । यो रिल जोडीलाई दर्शकले कत्तिको मन पराउँछन् ? त्यो हेर्न भने ३ असोज कुर्नुपर्नेछ ।