काठमाडौं । यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । फिल्ममा शिल्पा भित्रिएको निर्माण टिमले जानकारी दिएको हो ।
शिल्पा अनुबन्धित भएसँगै फिल्ममा कलाकारहरूको लाइनअप पूरा भएको निर्देशक शेर्पाले जानकारी दिए । यसअघि फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, सुरक्षा पन्त र नवअभिनेत्री छिरिङ शेर्पा अनुबन्धित भइसकेका छन् ।
शेर्पाको डेब्यू निर्देशकीय यस फिल्मले शेर्पा जातिको सामाजिक कथावस्तुलाई समेटेको छ । फिल्ममा शेर्पाको नै कथा, पटकथा तथा संवाद छ । यसअघि शेर्पाले थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका छन् ।
यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा पुरुषोत्तम प्रधानको भिडिओग्राफी रहनेछ । केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका विभिन्न स्थानमा छायाकंन गरिने निमार्ण पक्षले बताएको छ ।