काठमाडौं । आफूले निर्देशन गरेको सामाजिक विषयवस्तु बोकेको फिल्म एक भगवत् गीताको सेन्सर तथा प्रदर्शनमा केही धार्मिक संघ–संस्थाले अवरोध पुर्याएपछि निर्माता सुनिलकुमार थापा तथा निर्देशक झरना थापा निराश भएका छन् । नेपाली फिल्मको सबैभन्दा ठूलो निकाय चलचित्र विकास बोर्डले समेत पछिल्लो पटक सिर्जना भएको विवादमा प्रभावकारी मध्यस्तता गर्न नसकेपछि फिल्मसंग सम्बन्धि निर्माता, निर्देशक तथा प्राविधिकमात्र होइन, अधिकांश फिल्मकर्मीले ‘एक भगवत् गीता’ ले सहज सेन्सर तथा प्रदर्शनको अवसर पाउनु पर्ने माग राखिरहेका छन् ।
चलचित्र विकास बोर्डले ‘एक भगवत् गीता’ लाई सेन्सरका लागि सिफारिस नदिँदा आगामी भदौ २९ गते शुक्रवारदेखि प्रदर्शन हुने यो फिल्मको निर्माण संस्था प्रचार प्रसारमा अत्यधिक व्यस्त हुनु पर्ने समयमा विकास बोर्ड धाउन बाध्य भएको छ । विकास बोर्डले आज आइतबार विभिन्न धार्मिक संघ–संस्था तथा फिल्म निर्माण गर्ने संस्थाबीच सहमतिको अन्तिम प्रयास गर्ने बताइरहेको छ । फिल्ममा विपिन कार्की, सुहाना थापा, धिरज मगर आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् ।
यसैबीच, निर्देशक झरना थापाले शनिवार मध्यराति सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै आफ्नो फैसला भगवानको हातमा छोडिदिएको उल्लेख गरेकी छिन् ।
शनिवार राति १ बजेर २२ मिनेटमा फेसबुकमा पोस्ट गरिएको स्टाटसमा उनी लेख्छिन्– ‘मध्यरातमा मैले आज यो लेखिरहँदा धेरै जना निदाई सक्नु भएको होला, कति जना अझै निदाउनु भएको छैन होला ।’
‘मान्छेलाई अत्यन्तै पीडावोध र निराशा भयो भने निद्रा नलाग्दो रहेछ, जुन आज म महसुस गरिरहेको छु, उनी लेख्छिन्– ‘प्रार्थना गर्छु, जो–जति जना निदाउनु भएको छैन, हजुरहरु ननिदाउने कारण मेरो जस्तो नहोस ।’
‘मैले मेरो जीवनको तीन दशक अनवरत रुपमा चलचित्र क्षेत्रमा दिएँ । प्रिय दर्शक हजुरहरुको मायाले म पर्दामा छाइरहेँ, मैले पनि दिन–रात, झरी–बादल, घर–परिवार नभनी हजुरहरुलाई मनोरञजन दिन अथक काम गरिरहेँ, उनले लेखेकी छिन्– ‘सम्पूर्ण नेपाली दर्शकको माया र साथको कारणले म अभिनय हुँदै निर्देशनमा आइपुगेकी छु । म जहाँ छु, जे छु, जस्तो छु, म नेपालीजन र नेपाली मनको आशीर्वादले छु । यहि प्रेरणाले म मेरो अन्तिम साससम्म चलचित्रमै काम गर्छु भनेर हिँहिरहेकी छु । मेरो जिन्दगी भनेकै चलचित्र कर्म र दर्शकको खुशी हो, त्यसबाहेक केहि छैन ।’
निर्देशक थापाले निरन्तर चलचित्र गरिरहेको तथा निर्देशकको रुपमा दर्शकको माया र स्नेह निरन्तर पाइरहेको उल्लेख गर्दै लेखेकी छिन्– ‘यहि क्रममा समाजको केहि यथार्थलाई टिपेर एउटा चलचित्र हामीले बनायौं । चलचित्रको कथावस्तु तथा मेरो भगवान श्रीकृष्णप्रतिको असिम आस्थालाई केन्द्रमा राखेर चलचित्रको नाम ‘एक भगवत गीता’ राख्यौँ । मैले मेरो जीवन भर राष्ट्र, हाम्रो देशको इतिहास, भौगोलिक अखण्डता, सांस्कृतिक विविधता, धार्मिक आस्था र सहिष्णुतामा आँच आउने कर्म अहिलेसम्म कहिल्यै गरेको छैन ।’
‘हामीले एक भागवत गीता निर्माण पुरा गरेर अब हजुरहरुको हातमा सुम्पन तयार भैसकेपछि चलचित्रको नाममाथि प्रश्न उठाइयो, उनी लेख्छिन्– ‘हामीले उठेका प्रश्नहरुको विनम्रतापूर्वक उत्तर दियौँ । हामीले हाम्रो चलचित्रमा हिन्दु पवित्र ग्रन्थ श्रीमद्भागवत गीताको कुनै पनि अवहेलना गरेका छैनौँ भनेर कथाको सार नै प्रस्तुत गर्यौं । चलचित्रको स्क्रिप्ट नै अध्ययन गर्न दियौं । अझ चित्त नबुझे रिलिज पूर्व चलचित्र हेर्न पनि अनुरोध गर्यौं ।’
‘प्रिय दर्शकबृन्द, मेरो आफ्नो जीवन नै भगवान श्रीकृष्णको आस्थामा चलेको छ र श्रीमद्भागवत गीता आफैँमा मेरो चलचित्र कर्मको प्रेरणा हो, निर्देशक थापाले भनेकी छिन्– ‘म धार्मिक आस्था र सहिष्णुतामा सचेत छु र कथा चयन गर्दा सबै कुराको अध्ययन गरेकी छु । बारम्बार हामीले हाम्रो चलचित्रको कथावस्तु सुनाएर, श्रीमद्भागवत गीताको अवहेलना नभएको सप्रमाण बताईरहँदा पनि चलचित्रलाई सेन्सर अनुमति नै दिईएको छैन र निर्क्योल आइतबार गरिने भनेर भनिएको छ ।’
आफ्ना सारा स्रोत, सम्पति, सपना र अहिलेसम्मको चलचित्र कर्मको लगानी गरेर बनाइएको चलचित्र यसरी चल्नै नदिने अवस्था आउँदा मर्नु न बाँच्नुको पीडा भैरहेको छ भन्दै निर्देशश थापाले केही जिज्ञासा पनि राखेकी छिन् । ‘थाहा छैन, हाम्रो चलचित्र हजुरहरुको आँखासम्म आउन् पाउँछ कि पाउँदैन । थाहा छैन प्रिय दर्शकको मायाको तेलले बलिरहेको यो झरना थापा नामको दियो अब बल्न पाउँछ कि पाउँदैन । सत्य बोलिरहँदा पनि, सहि छु भनेर दसी प्रमाण दिईरहँदा पनि कसैले न सुनिदिएपछि अन्तिममा फैसला त भगवान ले गर्नु होला नि हैन ?’ उनको जिज्ञासा छ ।
स्टाटसको अन्त्यमा उनले भनेकी छिन्– ‘मैले मेरो फैसला मेरो भगवानको हातमा छोडीदिएको छु, प्रिय दर्शक हरु !!! भगवान श्रीकृष्ण !!
हरे कृष्ण !!!’