
कैलाली । सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानले २११औं भानु जयन्तीको अवसरमा शनिबार विभिन्न बिधामा यहाँका स्रष्टाहरूलाई सम्मानित एबम् पुरस्कृत गरेको छ । प्रतिष्ठानले लोकसंस्कृति तर्फको प्रादेशिक प्रतिभा पुरस्कार २०८० बाट वरिष्ठ लोकगायक तथा डेउडा गायक नन्दकृष्ण जोशीलाई सम्मानित गरेको छ ।
यसैगरि भाषा -साहित्य तर्फको प्रादेशिक पुरस्कार वरिष्ठ कवि एबम ज्योतिष मनिराज जोशी, गायन तर्फको प्रादेशिक पुरस्कार लालबहादुर धामी (अछामी बड्डो), ललितकला तर्फको प्रादेशिक पुरस्कार वरिष्ठ चित्रकार जीतबहादुर आउजीलाई सम्मान गरेको छ ।
यस्तै, चलचित्र तथा नाट्य तर्फको प्रादेशिक पुरस्कार राजकुमार जोशी, संगीत तर्फको प्रादेशिक पुरस्कार लीलाधर बास्कोटा र डेउडा लोकगायन तर्फको प्रादेशिक पुरस्कार गायिका रेखा जोशीलाई प्रदान गरिएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले बताए ।
समारोहमा प्रमुख अतिथि समेत रहेका सूदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारी, प्रदेश सरकारकी संस्कृति मन्त्री माया पन्त र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले स्रष्टाहरूलाई दोसल्ला, नगद पुरस्कार, टिका र मालाले सम्मानित गरेका थिए ।
कार्यक्रममा सम्मानित हुने स्रष्टाहरूमा माधबसिंह बिष्ट, दलबहादुर बोगटी, सुरज शाह, ओमप्रकाश पुन, गौरी भट्ट, लक्षीराम आचार्य, कटक नेपाली, केपी कलौनी, धनेश्वरी रेग्मी, सागर कुश्मी चौधरी, गायिका पवित्रा भण्डारी, पुरनसिंह कडायत, रोहितप्रसाद ढुङ्गाना र जयदेव जोशी दार्चुले रहेका छन् ।
सम्मान समारोहमा थारू लोकनृत्य संस्कृति, डेउडा, ठाडीभाका, तथा शास्त्रीय संगीत एबम् लोकनृत्य प्रस्तुत गरिएको थियो ।समारोहमा डेउडा गायनका हस्तीहरू नन्दकृष्ण जोशी, रेखा जोशी, गौरी भट्ट, पबित्रा भण्डारी र लालबहादुर धामी अछामी बड्डोले प्रस्तुति दिएका थिए ।