काठमाडौं । मोडल तथा कलाकार रियाशा दाहाल र ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेल विवाह बन्धनमा बाँधिएका छन् । तीन वर्षदेखि प्रेममा रहेका उनीहरूले मंगलबार भक्तपुर सूर्यविनायकको एक रिसोर्टमा बिहे गरेका हुन् ।
उनीहरूको वैवाहिक समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पनि सहभागी भएका थिए । भक्तपुरको सूर्यविनायक निवासी रियाशा र काठमाडौँको गोलढुंगा निवासी भिक्टर प्रेम सम्बन्धमा थिए ।
युट्युबमा प्रसारण हुने भिडिओ सिरिज ‘आजकालको लभ’बाट चर्चामा आएकी रियाशा पछिल्लो समय टेलिचलचित्र ‘गाह्रो छ हो’मा काम गरिरहेकी छन् । रियाशाले थुप्रै म्युजिक भिडिओमा पनि काम गरेकी छन् ।
भिक्टर चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का संस्थापक हुन् । यो पेज युवापुस्ता माझ निक्कै लोकप्रिय छ । यो पेजको लोकप्रियतापछि भिक्टरले ‘रुटिने’को उपनाम पाएका छन् ।