काठमाडौं । पुरानो गीत ‘फूल मायामा नभुल’ लाई रिमेक गरेर पुनः सार्वजिनक गरिएकाे छ । लोक गायक प्रविण गुरुङको एकल आवाजमा रहेको पुरानो भाकाको उक्त गीत रिमेक गरेर भिडियोसहित नयाँ भर्जनमा बजारमा ल्याइएको हो ।
पहिले यो भाकाको गीत रेडियो तथा अडिओमा मात्रै सुने पनि भिडियो भने बनेको थिएन । उक्त गीत अहिले भिडियोसमेत निर्माण गरेर युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
नयाँ भर्जनको त्यस गीतमा लोकदोहोरी गायिका पूर्णकला बिसी र गायक राजु रामदाम (आरडी) ले आवाज दिएका छन् । उनीहरुलाई अन्य कलाकारहरु कृष्ण केसी, अम्रीता नेपाली र अनुजा पुडासैनीले पनि आवाजमा साथ दिएका छन् ।
त्यस्तै धनबहादुर गायकले शब्द रचना र संगीत भरेको गीतमा कृष्ण केसीले संगीत संयोजन गरेका हुन् । त्यसैगरी गीतको भिडियोमा मदन खड्का र दिलिप गायकले निर्देशन गरेका छन् भने दुर्गा पौडेलको छायांकन रहेको छ ।
विकास ज्ञवालीले सम्पादन गरेको भिडियो गायक राजु रामदामको युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो । उक्त भिडियोमा गायक राजु रामदाम, बबिता बानीयाँ (जेरी), रिया खड्का र रञ्जीता लामाले नृत्य तथा अभिनय गरेका छन् ।
याे गीतका गायक विस २०१८ माघ १ गते जन्मेका प्रविण गुरुङको गीत संगीतको क्षेत्रमा लाग्दालाग्दै मिति २०५१ साउन २२ गते काठमाडौंमा सवारी दुर्घटना (गाडीकाे ठक्कर) बाट निधन भएको थियो । १० वर्षको उमेरबाट घर छाडी सांगीतिक यात्रामा लागेका गुरुङले डाँफे कला मन्दिरमा नृत्य साथै गायन सिकेका थिए ।
तत्कालिन गण्डकी अञ्चलस्तरीय गायन प्रतियोगितामा प्रथम हुन सफल गुरुङले पाण्डव सुनारसँग सम्पर्क पश्चात राष्ट्रिय नाचघर काठमाडौंमा काम पनि गरेका थिए । गायक गुरुङका यो दाजुको मिरमिरे आँखा, सालैजो हितैको माया, फूल मायामा नभुल, माथिबाट को आयो सालको पात बजाउँदै लगायतका गीतहरु प्रचलित छन् ।
पुरानाे गीत
रिमेक पछिकाे गीत