मुम्बई । बलिउड अभिनेत्री जाह्नवी कपुर स्पाइ थ्रिलर चलचित्र ‘उलझ’ मा काम गर्ने भएकी छन् । सुधांशु सरियाको निर्देशन रहने यो चलचित्रमा अभिनेत्री जाह्नवीसँगै गुलशन देवैया र रोशन मैथ्यूको समेत प्रमुख भूमिका रहने छ । निर्माण पक्षले बुधबार दुई तस्बिर सार्वजनिक गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रको छायांकन मे महिनाको अन्तिमदेखि सुरू हुनेछ । चलचित्रमा जाह्नवी, गुलशन र रोशनसँगै राजेश ताइलांग, मैयांग चांग, सचिन खेदकर, राजेन्द्र गुप्ता, जितेन्द्र जोशी लगायतका कलाकारको अभिनय रहने जनाइएको छ ।
निर्माण पक्षका अनुसार यो चलचित्र एक आइएफएस अफिसरमा आधारित हुनेछ । चलचित्रका कथा निर्देशक सरिया र परवेज शेखले तयार पारेका हुन् । अभिनेत्री जाह्नवी जुनियर एनटिआरसँग चलचित्र ‘एनटिआर ३०’ मा देखिने छन् । यो चलचित्रबाहेक उनी अभिनेता राजकुमार रावसँग ‘मिस्टर एन्ड मिसेज माही’ मा समेत काम गर्दैछन् । अभिनेत्री जाह्नवी पछिल्लो समय चलचित्र ‘मिली’ मा देखिएकी थिइन् । यो चलचित्रले बक्सअफिसमा खासै राम्रो व्यापार गर्न नसकेता पनि उनको अभिनयको निकै चर्चा भएको थियो ।