काठमाडौँ । अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ इन रिलेसनसिपमा रहेकी छोरीको कथा समेटिएको छ ।
बिमलेश अधिकारी निर्देशित यस सिरिजको पटकथा तथा संवाद विवेक चम्लागाईंले लेखेका छन् । निर्देशक अधिकारीले यस सिरिजको अवधारणासमेत तयार पारेका हुन् । सिचुएसनल कमेडी–ड्रामा विधामा निर्माण भएको यस सिरिजमार्फत अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि कमब्याक गरेकी छन् । सिरिजमा अरुणिमासँगै बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, र रोजिना थापा मुख्य भूमिकामा छन् ।
फिल्मको सम्पूर्ण छायांकन संयुक्त राज्य अमेरिकामा गरिएको हो । सिरिजको निर्माण सेभेन कलर्स डिजिटलले गरेको छ । कार्यकारी निर्माता रोशन घिमिरे हुन् । सिरिजको पहिलो सिजनको केही भागको छायांकन सकेर टिजर सार्वजनिक गरिएको हो, तर टिजरमा स्ट्रिमिङ सुरु हुने मिति वा प्लेटफर्मको जानकारी दिइएको छैन । निर्देशक बिमलेश अधिकारीले छिट्टै स्ट्रिमिङ प्लेटफर्म टुगो लगाइने बताइएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google