काठमाडौँ । हिट फिल्म ‘जारी’को जोडी अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर ‘घर ज्वाइँ’मा देखिने भएका छन् । निर्माण युनिटले फिल्ममा दयाहाङ र मिरुना जोडीकै रुपमा देखिने जानकारी दियो । अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्मको मुख्य भूमिकाका लागि एक महिना अगाडि दयाहाङ अनुबन्धित भएपनि मिरुना भर्खर छानिएकी हुन् । फिल्मका लागि बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वान्देल, राज थापा पनि छनौटमा परेका छन् ।
आगामी माघबाट छायांकनमा निस्कने फिल्मको निर्माता जनक घर्ती मगर हुन् । निर्माता मगरले फिल्मको मुख्य भूमिकामा रहने कलाकार लगभग फाइनल भएको बताए । जिएम मुभी प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्ममा निर्देशक मगरसहित विनोद खतिवडा र सुभाष कोइरालाको लेखन रहेकोछ । रुकुममा छायांकन हुने फिल्मको कथा घर ज्वाइँको रहेको छ । फिल्म वितरण रोहित–रत्नको आरआर फिल्म्सले गर्नेछ ।