काठमाडौं । छायांकनमा रहेको फिल्म ‘पशुपति प्रसाद २’मा अभिनेत्री आँचल शर्माको इन्ट्री भएको छ । आँचलले फिल्मको एक गीतमा नृत्य गर्ने छिन् । उनलाई सोही गीतको छायांकनका क्रममा छायांकन सेटमा बोलाइएको फिल्म निर्माण टिमले जनाएको छ ।
आँचल यो फिल्ममा गीतबाहेक अन्य भूमिकामा देखिने छैनन् । फिल्मका निर्देशक दीपेन्द्र के खनाल भन्छन्, ‘उहाँलाई नृत्यका लागि मात्रै लिएका हौँ । अहिले गीतको छायांकनमा उहाँ आउनुभएको हो । आँचल यो चलचित्रमा गीतमा मात्रै देखिनेछिन् । अन्य भूमिकामा हामीले अनुबन्ध गरेका हैनौँ ।’
यो गीतमा आँचलसँग फिल्मका शीर्ष कलाकार विपिन कार्कीले नृत्य गर्नेछन् । गीतको छायांकन आज सकिने निर्माण टिमले जनाएको छ । फिल्मको शीर्ष भूमिकामा अनुबन्धित स्वस्तिमा खड्का यो गीतको सेटमा देखिने छैनन् । दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ललगायत कलाकार शीर्ष भूमिकामा देखिने छन् । फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्म आउँदो दसैँमा रिलिज हुनेछ ।