काठमाडौं । अहिले हलमा चलिरहेको केकी अधिकारी स्टारर नेपाली चलचित्र ‘बोक्सीको घर’ लाई लिएर टिप्पणी आउने क्रम जारी छ । यो चलचित्रले दोस्रो सप्ताहन्तसम्म ७ करोड रुपैयाँभन्दा माथिको व्यापार गरेको अनुमान छ ।
अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्काले केकी र चलचित्र ‘बोक्सीको घर’को समर्थन गर्दै नेपाली चलचित्र क्षेत्रको मनोविज्ञानबारे विश्लेषणात्मक टिप्पणी गरेकी छन् । नेपाली फिल्म क्षेत्रमा ‘बोक्सी’जस्तै केही रुढिवादी चिन्तन रहेको र ती चिन्तनलाई यो चलचित्रले जरामा आगो लगाइदिएको स्वस्तिमाको भनाइ छ ।
स्वस्तिमा लेखेकी छन्
‘बोक्सीको घर’ अहिले दर्शकप्रेमले भरिएको छ । हरेक उमेर समूहलाई यसले फरक–फरक आँखीझ्याल दिएको छ । सदियौंदेखि सुन्दै आएको सामाजिक कुरीतिको कथा भएकाले ‘बोक्सीको घर’ सबैको फिल्म भएको छ । मलाई भने यो फिल्मले बेग्लै दृष्टि दिएको छ । खासगरी नेपाली फिल्म क्षेत्रमा ‘बोक्सी’ प्रथाजस्तै केही रुढीवादी चिन्तन व्याप्त छन्, जस्तो :
–३० वर्ष उमेर पार भएकी अभिनेत्रीलाई दर्शकले पर्दामा हेर्न चाहँदैनन् ।
–महिलाप्रधान चलचित्र व्यावसायिक रूपमा सफल हुँदै हुँदैनन् ।
–अभिनेत्रीलाई पुरुष कलाकारको साथ चाहिन्छ चाहिन्छ ।
–विवाहित अभिनेत्री चलचित्रमा रुचाइँदैनन् ।
‘बोक्सीको घर’ले यी सबै रुढिवादी चिन्तनको जरामा आगो लगाइदिएको छ । अभिनेत्रीलाई लिएर चलचित्र क्षेत्रमा व्याप्त कयौं गलत भाष्यलाई गलत सावित गरिदिएको छ । चलचित्रका गुण–अवगुणलाई एकातिर पन्छाएर म यो ‘छलाङ’लाई उत्सवझैं मनाउन चाहन्छु ।