काठमाडौं । विगत तीन दशकदेखि नेपाली गीत गायन तथा म्युजिक भिडियो मोडलिङमा सक्रिय वरिष्ठ गायक सिताराम पोखरेलले 'चित्त दुख्छ रे उनैको' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । मुनाल शिशिर कोइरालाको शब्दमा रहेको यस गीतलाई सागर सरद अधिकारीले संगीतवद्द गरेका हुन् । संजय श्रीपालको गीतमा संगीत संयोजन रहेको छ ।
वैवाहिक सम्बन्धमा हुने सानो तिनो झगडा या मनमुटावको कथामा आधारित यस गीतको म्युजिक भिडियोमा स्वयम् गायक पोखरेल र उषा उप्रेतीको अभिनय रहेको छ । सुजन श्रेष्ठले छायाँकन गरेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । नबिन बिष्ट सहायक निर्देशक रहेको यस गीतको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो ।
भिडियो 'ओएस आर डिजिटल' नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । २०४४ मा ‘सजाइदियौ जिन्दगी मेरो’ बोलको गीतबाट सांगीतिक यात्रा थालेका पोखरेलले २ सयभन्दा भन्दा बढी गीतमा स्वर दिइसकेका छन् । उनका दर्जन बढी एल्बम सार्वजनिक भैसकेका छन् तीमध्ये दर्जनौँ हिट छन् । गायक पोखरेल थुप्रै अवार्ड बाट समेत सम्मानित छन् ।