काठमाडौं । नायिका स्वस्तिमा खड्काले नेपाली चलचित्र ‘दिमाग खराब’लाई सो नदिएर हेपेको दाबी गरेकी छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै खड्काले हिन्दी फिल्म ‘टाइगर’को बुकिङ घट्दै जाँदा पनि जबरजस्ती सो संख्या बढाइएको र बुकिङ रात्तै हुँदा पनि ‘दिमाग खराब’ लाई सो नदिएर हेपेको बताएकी हुन् ।
उनले लेखेकी छिन्, भक्तपुरस्थित QFX मा आज ‘दिमाग खराब’ र ‘टाइगर ३’को बुकिङ अवस्था यस्तो छ । ‘टाइगर’को बुकिङ घट्दै जाँदा पनि जबरजस्ती सो संख्या बढाइएको छ । बुकिङ रात्तै हुँदा पनि ‘दिमाग खराब’लाई सो नदिएर हेपिएको छ । यो दादागिरी हो । हाम्रो लडाइँ ‘टाइगर’सँग होइन, उसलाई राजा बनाएर अरूलाई दास बनाउनेहरूसँग हो ।
शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘दिमाग खराब’लाई पाखा र हिन्दी फिल्मलाई काखा गरेपछि प्रदर्शकहरू विरुद्ध स्वस्तिमाको आक्रोश पोखिएको हो । फिल्मको टिमले भने हलबाट फिल्म उतार्ने निर्णय गरिसकेको छ ।