काठमाडाैं । नेपाली फिल्मलाई विश्वव्यापी रिलिज गर्ने उद्देश्यसहित बनाइएको इन्डो नेपाली फिल्म हिटम्यानको मोशन पोस्टर र टिजर रिलिज गरिएको छ । नेपालको काठमाडौं र पोखरा अनि भारत, फ्रान्सको पेरिस तथा दुबईमा खिचिएको छ । आगामी फागुन अर्थात् फेब्रुअरीमा रिलिज गरिने सिनेमाको अफिसियल प्रदर्शन मिति केही दिनमा सर्वजनिक गरिने सिनेमाका निर्माता तथा निर्देशक विष्णु अधिकारीले बताए । सिनेमा नेपालीसँगै हिन्दी, तेलगु, तमिल, कन्नडा, मल्यालम, अरबी र चाइनिज गरी दस भाषामा रिलिज गरिने छ ।
टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिएका छन् । टिजरमा आँचलको भने कुनै पनि दृश्य समावेश छैन । पत्रकार सम्मेलनमा उपस्थित आँचलले टिजरमा आफू नदेखिएको बताइन् । सिनेमाको ट्रेलरमा भने भारतसँगै नेपाली दृश्य र कलाकारसमेत देखिने कलाकार विष्णु अधिकारीले बताए ।
यो सिनेमामा प्रशान्त ताम्राकार र मिलन सिजापतिको पनि मुख्य भूमिका छ । केही अभिनेत्रीहरूसँग आफूले कुरा गरे पनि अन्तिममा आँचल शर्मा भूमिकामा फिट भएको विष्णुले बताए । सिनेमाले नेपालको सुन्दरता प्रस्तुत गर्ने उनको भनाइ छ ।
आँचलले तेलगु सिनेमा भए पनि आफूले नेपाली भाषा नै बोलेको बताइन् । तर, आफूले तेलगु भाषा भने केही सिकेको उनले बताइन् । ९९ सिनेमाज र इष्ट एण्ड वेस्ट इन्टरटेनमेन्टकाे ब्यानरमा निर्माण भएको सिनेमामा दिपक अधिकारी निर्माता र सन्नी लावती सहनिर्माताको रूपमा छन् ।