
काठमाडौं । फिल्म ‘एक मुठ्ठी बादल’मा अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा देखिने भएकी छन् । बिहीबार निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेको छ। जसमा सारी लगाएकी आँचललाई गम्भीर रुपमा देखिन्छ । सहारा शर्माको लेखन र निर्देशन रहेको फिल्मले पारिवारिक कथावस्तु समेटेको छ । फिल्ममा अभिमन्यु दीक्षित, अनुप पौडेल र सामीप्यराज तिमल्सेनाको प्रस्तुति छ ।
केही अप्रत्याशित र दुर्भाग्यपूर्ण घटनापश्चात् आमा र उनको परिवारले वर्षौंदेखिका रहस्य र कुण्ठा कसरी सामना गर्न बाध्य हुन्छन् भन्ने कथा छ- ‘एक मुठ्ठी बादल’मा । गौँथली इन्टरटेनमेन्ट र अन्डरग्राउन्ड टकिजको सहकार्य रहेको यस फिल्मबाट सहयोगराज अधिकारीले डेब्यु गर्दै छन् ।
महिलाप्रधान कथावस्तुको फिल्मको छायांकन फागुनमा सुरु हुने बताइएको छ । एक मुठ्ठी बादलको स्क्रिप्ट भारतको फिल्म बजार अनलाइनको प्रोडक्सनमा छनोट भएको थियो। साथै आपेनडोर्स, कान्स र रोटेरडम फिल्म मार्केटमा पनि पिचिङ भइसकेको छ ।
यसअघि सहाराको निर्देशनमा बनेको ‘इन्द्रेणी खोज्दै जाँदा’ किम्फ र टोरन्टो नेपाल फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल भइसकेको छ । गौँथली इन्टरटेनमेन्टबाट फिचर फिल्म ‘बर्दिया सुन्दरी’ समेत बनिसकेका छन् ।