काठमाडौं । सिनेरोयलले नेपालगन्जमा तीन स्क्रिनसहितको आधुनिक लक्जरी सिनेमा हल सञ्चालनमा ल्याएको छ । नेपालका सिनेमा घरप्रतिको वर्तमान धारणालाई नयाँ उचाइ दिन अत्याधुनिक प्रविधि, आलिशान सिटिङ, इमर्सिभ साउन्ड र भव्य वातावरणसहित सिनेरोयलले अभूतपूर्व बेन्चमार्क स्थापित गरेको दाबी गरेको छ ।
तीनवटा अडिटोरियममा ५६० सिटका साथमा सिनेरोयलले आधुनिक कला डेको डिजाइनको उत्कृष्ट नमुना भएको जनाएको छ । डा. राहुल थापाको वर्षौंको अनुसन्धान र मिहिनेतको परिणामको रुपमा यो हल सञ्चालनमा आएको सिनेरोयलको भनाइ छ ।
अमेरिकाबाट आयातित सबै अडिटोरियममा नेपालकै पहिलो जेबीएल एटमोस साउन्ड सिस्टम रहेको सिनेमा हलले जनाएको छ । सबै अडिटोरियमहरूमा प्रक्षेपण प्रणाली बेल्जियमबाट २० हजार लुमेन्स बारको प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३.२ थ्री डी प्रिजम सिल्भर स्क्रिन र हङकङबाट ३ बीम गेट–डी थ्री डी प्रणाली जडान गरिएको छ ।
नेपालमै पहिलो पटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङसँगै सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको बताइएको छ । सिनेमा अनुभवको पुनरुत्थानको प्रतिज्ञा गर्दै, सिनेरोयलले वास्तवमै देशको चलचित्र प्रदर्शनी उद्योगमा एक नयाँ बेन्चमार्क सेट गरेको सिनेरोयलको दाबी छ ।