रन्जना लम्साल थापा
बादलपारि उड्ने गिद्धहरु लोप भएर के भो ?
जमिनमा गुड्ने गिद्धहरु अझै
चारदिशा चार पाउ टेक्दै
गुडिरहेका छन् !
जसको उचाईमा
न आकासे गिद्धले भेट्यो
न हिउँचुली नै पुग्यो !
एउटा सिनो भइसकेको लासमाथि
गिद्धहरुको हानाथापी
स्वाभिमानमाथि बजार्दै लाती
अझै सिनो बनाउने आस
जीवित जिउँदैलाई बनाई लास
आमालाई लम्पसार पारी
छातीमाथि उफ्रदै
सिनो ढुकेर बसिरहेका छन् ।
धर्म,सत्य ,प्रेम र संस्कार
गोडाले कुल्चेर
राष्ट्रघाती दलालहरु
अझै समाजवादी रे !
न विवेक पलायो;
न कर्मले मानव नै बन्यो !
कात्रोभित्र बेरिएको लास बनाउँदै
धर्ती नै उठिवास
जीवन नै सत्यानास
यो कस्तो तन्त्र आयो ?
जल थल सबै बेचियो
माटोले बसाई सर्न थाल्यो
तर अहँ !
गिद्धहरु भने सिनो लुछ्न छाडेनन्
सिकार गर्दै खुनले प्यास मेटाउन
पल्किएका ती गिद्धहरु
स्यालसंग मितेरी गाँस्दै
मिसन सफल बनाउन लागीपरेका छन् रे !