
काठमाडाैं । टीभी फिल्मीकी सञ्चालक निकिता पौडेलले अब नारी टीभी सञ्चालनमा ल्याउने भएकी छिन् । उनले टीभी फिल्मीलाई नारी टीभी बनाउन लागेकी हुन् । नारी दिवसको अवसरमा उनले भनेकी छिन्, ‘अब हामी हाम्रो च्यानललाई नेपाली नारीहरूमा समर्पित गर्न चाहन्छौँ । ‘टीभी फिल्मी’ अब छिट्टै ‘नारी टीभी’ बनेर आउनेछ । आज नारी दिवसका दिनमा यो घोषणा गर्न पाउँदा मलाई हर्ष र गर्व लागेको छ ।’
टीभी फिल्मीमार्फत १४ वर्ष नेपाली सिनेमामा सेवा गरेको उनले बताएकी छिन् । ‘परिस्थिति फेरिँदै जाँदा करिब २ वर्षजति सिनेमाहरू नै चलेनन् । त्यसको प्रत्यक्ष असर हाम्रो च्यानललाई पर्यो,’ उनले भनेकी छिन्, ‘कुनै समय थियो, जति बेला ‘टीभी फिल्मी’ नेपाली सिनेमा, कलाकार, प्राविधिक, वितरकहरूको एक मात्र साझा मञ्च थियो ।’
परिस्थिति बदलिएकाले उनले पनि टीभी बदल्न लागेकी हुन् । ‘अन्य धेरै फिल्मी च्यानल, अनगिन्ती युट्युब च्यानल र प्रभावकारी सामाजिक सञ्जालका कारण सिनेमा क्षेत्रले दर्शकहरूको साथ पाइरहेको छ । हिजो केही, कोही नहुँदा हामीले सक्दो गर्यौँ । यो यात्रामा हामीलाई सघाउनु हुने कलाकार, निर्माता, निर्देशक, प्राविधिक, सिने पत्रकारहरूलगायत सम्पूर्ण सिने जगत्लाई धन्यवाद टक्र्याउन चाहन्छु,’ उनले भनेकी छिन् ।
नारी टीभीमा कर्मचारी, प्राविधिक, प्रस्तोताका रूपमा नारीहरूलाई नै प्राथमिकतामा राखिने उनले बताएकी छिन् ।
‘महिलाका मुद्दा, महिला सशक्तीकरण, साना तथा घरेलु महिला उद्यमीलाई सघाउने, महिला हिंसाका विरुद्ध खडा हुने, छोरीहरूलाई सबल सक्षम बनाउने र सबल सक्षम छोरीहरूका प्रेरणादायी कथाहरू देखाउनेलगायतका कार्यक्रम यस च्यानलमा प्रसारण गरिनेछन्,’ निकिताले भनेकी छिन्, ‘नारी च्यानलका रूपमा हामी चाँडै नै नेपाली आकाशमा छाउनेछौँ ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google