काठमाडौं । श्रीमतीको निधनपछि चिनोका रुपमा राखेको श्रीमतीको सलले पिँठ्युमा सानो छोरा बोकेर मञ्चमा उक्लिएका पीएन साइँलाका शब्दले लोकस्टारको माहोल भावुक बन्यो । उनले श्रीमतीको निधनपछि चिनोका रुपमा राखेको श्रीमतीको सलले छोरालाई बोकेर काठमाडौं आएकाे बताएपछि माहोल झनै भावुक भयाे ।
प्रतियोगितामा सामेल प्रतियोगीका क्षमता मापन गर्न जजको कुर्सीमा बसेका सबैका आँखा आँसुले भरिए। पीएनसँगै प्रतिस्पर्धामा रहेका प्रतियोगीले आँसु बगाए ।
महाजजका रुपमा लोकस्टारको १३ औँ एपिसोडमा पुगेका लोकगायक कुमार बस्नेतले पनि आफूलाई सम्हाल्न सकेनन् । बस्नेतले भिटो अधिकार प्रयोग गर्दै पीएनलाई भोटिङ राउन्डका लागि छनोट गरे ।
उनले चयन गरेका शब्द, मर्मस्पर्शी गला र गायन कलाको सबैले तारिफ गरे । काखे छोरा बोकेर स्टेज चढेका उनले आफ्नै जीवनकथालाई गीतमा प्रस्तुत गरे ।
पत्नीको मृत्युपछि एक्लै छोरा हुर्काइरहेका पीएन छोरा बोकेरै लोकस्टारमा भाग लिन काठमाडौं आएका थिए । पीएनले पहिलो एपिसोडमै दमदार प्रस्तुति दिएर गोल्डेन स्टार अवार्ड जितेका थिए ।