काठमाडौं । फिल्म ‘२.० छड्के’ नचलेपछि नायक अनमोल केसीले आफू शून्यमा झरेको टिप्पणी गरेका छन् । आफूले दर्शकलाई निराश बनाएको स्वीकार गर्दै उनले यसलाई आफैँलाई दुःखी बनाएको बताएका छन् । नवौं सिनेमामा आउँदा परिपक्व हुनुपर्नेमा आफू चुकेको उनले स्वीकार गरेका छन् ।
आफूले अब गर्ने सिनेमा करिअरको पहिलो सिनेमा हुने उनले बताएका छन् । ‘मेरो करिअरको पहिलो सिनेमा मेरो दशौं सिनेमा हुनेछ,’ उनले लेखेका छन्, ‘अर्थात् मेरो करिअरको दोश्रो सत्रको सुरुवात मेरो अबको सिनेमाबाट हुनेछ।’
अनमोलले शुभचिन्तक र दर्शकको साथ र सहयोग रहेसम्म निरन्तर कोसिस गर्ने प्रतिबद्धतासमेत जनाए । यसका साथै उनले चलचित्र ‘छक्का पन्जा ४’लाई बधाईसमेत दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई थाहा छ मैले २.० छड्के मार्फत मलाई माया गर्ने दर्शकहरूलाई निराश बनाएँ। जुन दर्शकहरूको साथको कारण म यहाँ आइपुगेँ। उहाँहरूलाई नै निराश बनाउँदा म झनै दुःखी भएको छु । २.० छड्के मेरो नवौं सिनेमा थियो। नवौं सिनेमामा आइपुग्दा म झनै परिपक्व हुनपर्थ्यो । यहाँनेर म चुक्न पुगेँ। विश्वस्त हुनुस्, यो समय पनि बितेर जान्छ । घाम डुबेपछि फेरि नयाँ बिहानी हुन्छ। म भोलिको सुनौलो बिहानी मेरा दर्शकसँग साट्नेछु । दुखेका घाउहरूमा मल्हम लगाउनेछु। अब नवौंपछिको दशौं सिनेमा दशपछिको शून्य हटेपछि बन्ने एक अर्थात् आज म शून्यमा छु । र, मेरो करिअरको पहिलो सिनेमा मेरो दशौं सिनेमा हुनेछ । अर्थात् मेरो करिअरको दोश्रो सत्रको सुरुवात मेरो अबको सिनेमाबाट हुनेछ । जबसम्म शुभचिन्तक र दर्शकहरूको साथ र सहयोग रहि रहनेछ, मेरो कोशिस निरञ्तर जारी रहनेछ। पशुपति नाथले हामी सबैको कल्याण गर्नु हुनेछ ।’