काठमाडौं । नेपाली चलचित्र ‘प्रेमा’ आजदेखि प्रदर्शनमा आएको छ। प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्का र सृष्टी श्रेष्ठमै केन्द्रित छ ।
गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेता क्षेत्रीले आकाश, अभिनेत्री खड्काले प्रेमा र अभिनेत्री श्रेष्ठले निहारिकाको भूमिका निर्वाह गरेका छन् । धनगढीबाट आफ्नी दिदी भिनाजुको घरमा आएकी प्रेमाले बस विसौनीमै आकाशलाई झगडा गर्दै गरेको चलचित्रमा देखिन्छ। प्रेमालाई आकाश गुण्डा झैँ लाग्छ । थुनामा पारेपछि मात्र प्रेमालाई आकाश निर्दोष रहेको थाहा हुन्छ ।
आफ्नो गल्तीलाई भुलाउँदै क्षमा माग्नुभएकी प्रेमा विस्तारै आकाशसँग नजिकिँदै प्रेममा पर्छन् । यद्यपि भौगोलिकसँगै विचार र व्यवहारमा समेत फरक देखिएको सो जोडीको प्रेममा समस्या आउँछ। दुवै छुटिने बाटोमा पुगेपछि आकाश सडक दुर्घटनामा पर्छन् ।
निहारिकाको कारबाट भएको दुर्घटनाविरुद्ध आकाशले प्रहरीमा मुद्दा नहालेपछि दुवैको भेटघाट बढ्छ ।
आकाशको व्यक्तित्वले निहारिका आकर्षित भएपछि उनसँग प्रेम बस्छ । यी दुवैको विवाह हुनै लाग्दा प्रेमा आइपुग्छिन् । त्यसपछि आउने आरोहअवरोहलाई चलचित्रमा देखाइएको छ ।
अभिनेत्री खड्काझैँ अभिनेता क्षेत्रीको समेत यो दोस्रो चलचित्र हो। उनले यसमा निर्वाह गरेको भूमिका निर्देशककै अनुसार गरिएको बताइन्।
प्रेमाको छायाङ्कन काठमाडौँ, धनगढी र कर्णालीमा गरिएको हो। चलचित्रमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियालगायतले अभिनय गरेका छन्। चलचित्र ‘प्रेमा’लाई उपत्यकामा जिजीए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गरेको हो।