काठमाडौं । अभिनेता पल शाहले अदालतको निर्णयलाई सम्मान गर्दै फेरी पुरानो संघर्षशील दैनिकीमा फर्किएको बताएका छन् । सामाजिक सञ्जालमा सोमबार परिवारसँग होली खेलेको तस्वीर सार्बजनिक गर्दै अभिनेता शाहले पछिल्लो एक वर्ष सिकाइको उर्बर समयको रुपमा लिएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्- 'सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया हो । बितेको एक वर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको छु । मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना । छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य ।'
अभिनेता शाहले बितेको एक बर्षको त्यो घटनासँग जोडीएका सबैमा आफ्नो सदा सम्मान र सद्भाव रहने भन्दै कोही कसैको दोष नभएर समयको दोष भएको उल्लेख गरेका छन् । साथै उनले कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदिन र सबैसँग फेरी सहकार्य गर्ने वातावरण मिलोस भन्ने उल्लेख गरेका छन् ।
उनले भनेका छन्- 'मेरो बितेको एक बर्षको त्यो घटनासंग जोडीएका सम्पूर्ण ब्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ । र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीनुहोला। उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस । त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु। मेरो स्वागतमा परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन ।'
नाबालिक बलात्कार मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएपछि अभिनेता पल शाह फागुन १५ गते जेलमुक्त भएका थिए ।