काठमाडौं । दशैंको अवसर पारेर यही शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘परदेशी २’ का निर्देशक एवं कलाकारहरु शनिवार भक्तजनमाझ प्रस्तुत भएका छन् । भक्तपुरको चाँगुनारायण ताथलीमा जारी श्रीमद्भागवत महायज्ञमा पुगेर चलचित्रका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीले चलचित्रको प्रचारप्रसार गरेका हुन् ।
निर्देशक एवं कलाकारहरुलाई त्यहाँ बाजागाजा र फूलमालाले भव्य स्वागत एवं सम्मान गरिएको थियो ।
वडादशैंको छेको पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउने ‘परदेशी २’मा प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ ।
रमेश बिजीले कथा एवं पटकथा लेखन रहेको चलचित्रले अध्ययनका लागि विदेशिने युवा र सन्तान विदेशिँदा बुढेसकाल लागेका आमाबुवाले भोग्ने पीडालाई प्रस्तुत गर्छ । राजेश वंशल र निर्देशक नारायण रायमाझीले संयुक्त रुपमा चलचित्रको निर्माण गरेका हुन् ।