✍️ : सन्तोष दहाल
आलुकाउली खाने मन थ्यो गुन्द्रुक किनी फर्केँ
कटहरको स्वाद बिर्सी लौका किनी फर्केँ
कमाई छैन महँगीले आकाश छुँदा खेरी
जुत्ता किन्न गएको म तुना किनी फर्केँ
पड्काउँदै छु हात्तीछाप जुत्ता हेर्या छैन
भोटो अनि कट्टु फाट्यो मैले फेर्या छैन
नुन चिनी नै महङ्गो भो भन्दै थियो हर्के
चप्पल किन्न गको थिए लोता किनी फर्के ।
ढिकीजाँतो हराइसक्यो कहाँ पुग्यो घट्ट
कहाँ पाउनु घ्यु,मह साँध्छु गुन्द्रुक चट्ट
महङ्गो भो भन्दा पनि साहुका आँखा कर्के
पनीर किन्न गको थिएँ मुला किनी फर्केँ ।
दु: ख सुख पार गर्दै छु समस्याको दुरी
धस्न पनि नसकिने भोको पेटमा छुरी
महङ्गीमा चिप्लिएर गाउँ शहर तर्केँ
च्याउ किन्न भनी गको साग लिएर फर्केँ ।
यस्तै हजुर यो दु:खीको जिउने यो मन्त्र
आधा पेट खान पनि कसको चल्छ तन्त्र
कटकटी मुटु खान्छ मेरा खुट्टा मर्के
प्रेसरकुकर किन्न गको डेक्ची किनी फर्केँ ।
चाहिएन भो त्यो औषधी खाना पछि खाने
वैद्य,डाक्डर,धामी,झाँक्री कता मात्र जाने
मुल्य सुन्दा यो गरिब नराम्ररी थर्के
औषधि लिन गको मान्छे मृत्यु लिई फर्के ।।