काठमाडौं । फिल्म 'पशुपति प्रसाद २ : भष्मे डन'को पहिलो गीत सार्वजनिक भएको छ। बिहीबार जनैपूर्णिमाको अवसर पारेर फिल्ममा समावेश गीत 'दुई चुल्ठी बाटन' रिलिज गरिएको हो । सार्वजनिक गीतमा फिल्मका मुख्य पात्र विपिन कार्की, अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्कालाई फिचर्ड गरिएको छ ।
गीतमा बि पाण्डेको शब्द रचना तथा सुवास भुषालको संगीत र मेलिना राई र निशान भट्टराईको स्वर सुन्न सकिन्छ । गीतको भिडिओलाई निरज कँडेलले खिचेकाछन् । गीतमा प्रविन सिंहको कोरियोग्राफी हेर्न सकिन्छ। 'पशुपति प्रसाद'को मृत्युपश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत 'भष्मे डन'को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।
फिल्म आगामी दसैंमा प्रदर्शनको तयारीमा रहेको छ । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको फिल्ममा विपिनसँगै स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय छ। फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन् ।
टुकी आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयम् हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।