काठमाडौं । नेपाली चलचित्र ‘गोर्खा वारियर’ को प्रिमियर बेलायतको लिसेस्ट स्क्वायर लन्डनको ‘आइम्याक्स सिनेवल्र्ड’ मा गरिने भएको छ । त्यहाँ नेपाली चलचित्रकै इतिहासमा पहिलो पटक यो चलचित्र रेडकार्पेट प्रिमियर गर्न लागिएको हो । प्रिमियर सन् २०२३ सेप्टेम्बर १० मा गरिने आयोजक चाम्स इन्टरटेनमेन्टले जनाएको छ । प्रिमियरमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ सहभागी हुने भएका छन् । ‘गोर्खा वारियर’ का निर्देशक मिलन चाम्सले धरान पुगेर बुधबार मेयर साम्पाङलाई सो प्रिमियरमा निम्तो दिएका छन् ।
मेयर साम्पाङले आफुलाई धरानका विभिन्न परियोजनामा बेलायतबासी नेपालीले धेरै नै सहयोग गरेको निर्देशक चाम्सलाई बताए । ‘गोर्खा वारियर’ को प्रिमियरमा आफु अतिथिको रुपमा सहभागी हुन लन्डन जाने मेयर साम्पाङले निर्देशक चाम्सलाई बताएका छन् ।
प्रिमियर सोका लागि निम्तापत्र ग्रहण गर्दै मेयर साम्पाङले गोर्खालीको सान मानिएको यो चलचित्रले वीर नेपालीलाई विश्वव्यापी रुपमा चिनाउने विश्वास व्यक्त गरेका छन् । उनले प्रिमियरमा आफुलाई निम्तो गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् ।
निर्देशक चाम्सका अनुसार प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटी, हलिउडकै फिल्म डिस्ट्रिब्युटरसँगै बेलायतका राजपरिवार, सांसद, स्थानीय निकाय प्रमुख, बेलायती सैनिकका जनरल, बृटिस गुर्खा सैनिकका विभिन्न ओहदाका अफिसर, बेलायतमा रहेको नेपाली राजदुतावास, काउन्सिलका पदाधिकारी, विभिन्न सरकारी र गैरसरकारी संघ–संस्था एवं निकायका उच्च ओहदाका व्यक्तित्वलाई निमन्त्रणा गरिएको छ । यस्तै, नेपालबाट नेपाल सरकारका विशिष्ट व्यक्तिलाई पनि सो प्रिमियरमा निमन्त्रणा गरिने कार्यको थालनी भएको पनि निर्देशक चाम्सले जानकारी गराएका छन् ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुस्मिता वाइवा र सुमन राई छन् । यस्तै कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।
‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन् । रितेशसँगै ‘गोर्खा वारियर’ मा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका विभिन्न कलाकारको अभिनय छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google