काठमाडौं । बेलायतमा बस्दै आएकी शन्नी शाहीले अन्तर्राष्ट्रिय ब्युटी पेजेन्टमा सफलता हासिल गरेकी छन् । केही महिनाअघि मिसेस नेपाल युनिभर्सल २०२२ ताज जितेपछि उनी हालै बुल्गेरियामा सम्पन्न मिसेस युनिभर्स २०२२ मा नेपालको तर्फबाट सहभागी भएकी थिइन् ।
विवाहित महिलाको सोही अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा उनले ‘मिसेस युनिभर्स लोयल २०२२’ को उपाधि जितेकी हुन् । उनी नेपालको प्रतिनिधित्व गर्दै सो प्रतियोगितामा सहभागी भएकी हुन् । ४०औं मिसेस युनिभर्स २०२२ मा १२० देशका महिला प्रतिस्पर्धामा उत्रिएका थिए । बिजेतासहित एक दर्जन उपाधि थिए । जसमा नेपालकी शन्नीले ‘मिसेस युनिभर्स लोयल २०२२’ को टाइटल जितेकी हुन् । मिसेसबाट नेपालले यति ठुलो उपाधि जितेको यो नै पहिलो भएको उनको कथन छ ।
बेलायतबाटै उनले मिसेस युनिभर्स २०२२ मा सहभागी हुने अवसर पाइन्, ‘शिर्ष उपाधि नै जित्ने तयारीका साथ म प्रतिस्पर्धामा उत्रिएको थिएँ । शिर्ष नभए पनि एउटा टाइटल मिसेस युनिभर्स लोयल २०२२ जितेकी छु र नेपाललाई मिसेस युनिभर्सको स्टेजमा चिनाएकी छु,’ शन्नीले भनिन् ।
अन्तर्राष्ट्रिय उपाधि चुमेपछि बेलायतबाट यतिबेला काठमाडौं आएकी उनी नेपाल राष्ट्रिय खड्गी समाज, भमुलु अजिमा परिवार, शिवम बाँसुरी खलबाट सम्मानित पनि भएकी छन् । लन्डन फेसन होमले आयोजना गरेको मिसेस नेपाल युनिभर्समा १७ जनालाई उछिन्दै शन्नीले शिर्ष उपाधि हात पारेकी थिइन् ।
अहिले भने मिसेस युनिभर्समा ‘मिसेस युनिभर्स लोयल २०२२’ को उपाधि चुमेकी हुन् । काठमाडौंको असनमा जन्मिएकी उनी ब्युटी एक्सपर्ट पनि हुन् । उनको लन्डनमा ब्युटीसम्बन्धी व्यवसाय छ । दुई छोरीकी आमा शन्नी विवाहपछि पनि महिलाले आफुले चाहेको सफलता हासिल गर्न सक्छन भन्छिन् । उनी आफू मनोविज्ञानको विज्ञ भएकाले उनले मानसिक स्वास्थ्य क्षेत्रमा पनि काम गर्दै आएकी छन् ।