काठमाडौं । ‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ आयोजना हुने भएको छ । युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचीमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने लक्ष्यका साथ प्रतियोगिता गरिँदै आएको छ ।
सम्पदा संरक्षणमा योगदान पुर्याउन नेपालको तर्फबाट प्रतियोगी चयन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधि विजेता मिस तथा मिसेस् दुवै जनाले इप्लानेट सिंगापुरको आयोजनामा आगामी नोभेम्बर महिनामा थाइल्याण्डमा हुने ‘हेरिटेज पेजेन्टस् २०२३’ मा नेपालको तर्फबाट सहभागिता जनाउने छन् ।
प्रतियोगिताको नेपालमा आयोजना ग्रीन आर्टस् मिडिया प्रालिले गर्न लागेको हो । राजधानीमा आयोजित एक कार्यक्रममा ‘हेरिटेज पेजेन्टस्’ का आयोजक संस्था इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले ग्रीन आर्टस् मिडियाकी अनिला श्रेष्ठलाई प्रतियोगिताको लागि आधिकारिकता प्रदान गर्दै प्रमाणपत्र दिए । इप्लानेटले फेसन कोरियोग्राफरसमेत रहेकी अनिलालाई प्रतियोगिताका लागि नेपालका राष्ट्रिय निर्देशकसमेत चयन गरेको छ ।
सन् २०१६ देखि नियमित रुपमा नेपालको सहभागिता रहँदै आएको आयोजकले जनाएको छ ।
कार्यक्रममा गतवर्ष २०२२ मा ग्रीन आर्टस् मिडियामार्फत् परिन्दा परि श्रेष्ठले मिसेस् हेरिटेज नेपाल र परिसा रानाभाटले मिस हेरिटेज नेपालको रुपमा नेपालको तर्फबाट सहभागिता जनाएका थिए । जसमा परिन्दाले मिसेस् एलिगेन्स र परिसाले मिस मल्टिमिडियाको उपाधि नेपाल भित्र्याएका थिए ।