काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओली नेतृत्वको गठबन्धन सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता अगाडि बढाउन लागेको आरोप लगाएका छन् ।माओवादी निकट पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले आइतबार मकवानपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले ओली सरकारमाथि गम्भीर आरोप लगाएका हुन् ।
‘अर्को गम्भीर कुरा एसपीपीलाई अहिलेको प्रधानमन्त्रीले अघिल्लो पटक सैद्धान्तिक सहमति दिइसकेको कुरा अमेरिकी मिडियामा आइसकेको छ । यो गम्भीर चिन्ताको विषय छ । यो सरकार आफ्नो कुर्सी बचाउनका निम्ति राष्ट्रिय स्वाधीनताको सौदाबाजी गर्ने, राष्ट्रप्रति घात गर्ने त होइन ? सैद्धान्तिक सहमति गम्भीर विषय हो । त्यसमा सम्झौतातिर जाने हो कि स्थिति छ’, प्रचण्डले भने ।
अमेरिकाले सैन्य सम्पर्क स्थापना गर्नका लागि एसपीपी विभिन्न देशसँग सम्झौता गरेको छ । अमेरिकाको सुरक्षा नीतिसँग जोडिएको विषय भएकाले एसपीपी सम्झौता गर्न नहुने पक्षमा नेपालका विभिन्न राजनीतिक दल, बौद्धिक वर्ग, नागरिक समाज लगायत नागरिकस्तरबाट नै एसपीपी सम्झौताको व्यापक विरोध भइरहेको छ । यसअघि २०७८ मा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज परियोजना (एमसीसी) अनुमोदन भएकोमा व्यापक विरोध भएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google