नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा, माधव नेपालको सांसद पद निलम्बन

दर्पण दैनिक २३ जेष्ठ २०८२,१३:४८
post

काठमाडौं । पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितलाई प्रतिवादी बनाएर दायर गरिएको भ्रष्टाचार मुद्दामा १८ करोड ७० लाख रुपैयाँ बिगो कायम गरिएको छ ।

पूर्वप्रधानमन्त्री नेपाल, तत्कालीन भूमि सुधार मन्त्रालयका सचिव छविराज पन्त तथा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी, नेपालका प्रमुख शालिग्राम सिंहसहितलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उद्योग सञ्चालन गर्न भनी हदबन्दी छुट दिइएको जग्गा उद्योग सञ्चालन नगरी दुई महिनाभित्रै कानुनविपरीत बिक्री गर्न नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । मन्त्रिपरिषद्को निर्णयअघि जग्गा बिक्री गर्ने प्रस्ताव ल्याउन नेपालले तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठलाई निर्देशन दिएका थिए ।

नेपाल मन्त्रिपरिषद्ले सोही प्रस्तावअनुसार जग्गा बिक्रीको बाटो खोलिदिएको थियो । तत्कालीन मन्त्री श्रेष्ठको भने गत वर्ष निधन भइसकेको छ । त्यसबेलाका मुख्य सचिव माधव घिमिरे पनि यस प्रकरणमा संलग्न थिए । १० वर्षअघि त्रिशूली नदीमा जिप दुर्घटना हुँदा उनी बेपत्ता भएका थिए ।


माधव नेपालको सांसद पद निलम्बन

भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बनमा परेको छ ।

पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो ।

नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो । यस्तै, मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पहिलोपटक हो ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: