काठमाडाैँ । राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उनलाई शपथ गराएका हुन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको उपस्थितिमा आचार्यले नवनियुक्त आयुक्तहरू गगन विष्ट र दुर्गा भण्डारीलाई शपथ गराए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याललगायतको उपस्थिति रहेको थियो ।
शपथपछि ओलीले संविधानमा मौलिक हकका रूपमा सूचनाको हक रहेकाले त्यसको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्ने बताए । असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अलमल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने उनले बताए । लोकतन्त्रको उपयोग गर्दा आफ्ना न्यायोचित हक, अधिकारको उपयोग गर्नुपर्ने तर लोकतन्त्र र अराजकतालाई छ्ट्याएर काम गर्नुपर्नेमा उनको जोड थियो ।
मन्त्रिपरिषद्को यही मङ्सिर ६ को बैठकले सिफारिस समितिको सिफारिका आधारमा उनीहरूलाई नियुक्त गर्ने निर्णय गरेको थियो । आयोगका यही मङ्सिर २३ देखि अघिल्ला पदाधिकारीको कार्यकाल सकिएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google