काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति प्रकट गरेको छ । अनेरास्ववियूकी अध्यक्ष आरती लामाले आज विज्ञप्ति जारी गर्दै भारत र चीनले नेपाली भूभाग दार्चुलाको लिपुलेकलाई तीर्थ यात्रु आवतजावतको केन्द्र बनाउने भनेर गरेको सहमतिप्रति आपत्ति प्रकट गरेकी हुन् ।
‘चीनको राजधानी बेइजिङमा भारत र चीनका प्रतिनिधिहरुबीच नेपाली भूभागको उपयोगबारे सहमति हुनु, त्यसबारे नेपाल सरकार बेखबर रहनु र विषय सार्वजनिक भइसक्दा समेत सरकारी तवरबाट कुनै प्रतिक्रिया नआउनु अत्यन्त लज्जास्पद भएको हाम्रो संगठनको निष्कर्ष छ,’ लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनेरास्ववियूले छिमेकी मुलुकहरूले मच्चाएको सीमा आतङ्क र हेपाहा प्रवृत्तिविरुद्ध खेद प्रकट गर्दै नेपाल विरुद्धका गतिविधि रोक्न चेतावनी दिन चाहन्छ ।’ नेपाली भूभागमाथि भइरहेको अत्याचार विरुद्ध यथाशीघ्र आफ्नो धारणा सार्वजनिक गर्न अनेरास्ववियूले सरकार समक्ष अनुरोधसमेत गरेको छ ।
मिति : २०७१/०९/११ गते ।
विज्ञप्ती
अनेरास्ववियू न्याय, समानता, जनजिविका एवं राष्ट्रियताका पक्षमा आफ्नो स्थापनाकाल देखि नै जागरण, दबाब र खबरदारी गर्दै स्थापित नेपाली विद्यार्थीहरुको साझा संगठनको रुपमा क्रियाशील छ । शैक्षिक असमानता विरुद्ध समाजवादी शिक्षा कार्यान्वयनको वकालत मात्रै होइन मुलुकको समग्र राष्ट्रिय अखण्डता र स्वाभिमानको रक्षाका निम्ति समेत हाम्रो संगठनले पैरवी र संघर्ष गर्दै आइरहेको छर्लङ्ग छ ।
पछिल्लो समय भारत र चीनले नेपाली भु-भाग लिपुलेकलाई तीर्थ यात्रु आवतजावतको केन्द्र बनाउने सहमति गरेको विषयप्रति अनेरास्ववियूको गम्भीर ध्यानाकर्षण भएको छ । चीनको राजधानी बेइजिङमा भारत र चीनका प्रतिनिधिहरु बीच नेपाली भु-भागको उपयोगबारे सहमति हुनु, त्यसबारे नेपाल सरकार बेखबर रहनु र विषय सार्वजनिक भइसक्दा समेत सरकारी तवरबाट कुनै प्रतिक्रिया नआउनु अत्यन्त लज्जास्पद भएको हाम्रो संगठनको निष्कर्ष छ । अनेरास्ववियू छिमेकी मुलुकहरुले मच्चाएको सीमा आतंक र हेपाहा प्रवृत्ति विरुद्ध खेद प्रकट गर्दै नेपाल विरुद्धका गतिविधि रोक्न चेतावनी दिन चाहन्छ । साथै नेपाली भू-भागमाथि भइरहेको अत्याचार विरुद्ध यथाशीघ्र आफ्नो धारणा सार्वजनिक गर्न नेपाल सरकार समक्ष अनुरोध गर्दछ ।
अध्यक्ष
आरती लामा
अनेरास्ववियू
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google