काठमाडौँ । एमालेबाट निष्कासनमा परेका डा.भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएका छन् । आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले १७ गते बुधवार १ बजे कार्की ब्याङकेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेका छन् । उक्त पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्ने र भावी कार्य योजनाका बारेमा समेत जानकारी दिने तयारी छ ।
गत बुधबार नेकपा एमालेबाट निष्कासन गरिएका पूर्वउपाध्यक्ष डा. भीम रावल अहिले आन्तरिक छलफलमा छन् । एमालेबाट निकालिएपछि नयाँ यात्राका लागि विभिन्न विकल्पमा छलफल गरिरहेका उनले आफूसँग विचार मिल्ने र नमिल्ने शक्तिका नेतालाई पनि भेटिरहेका छन् ।
एमालेले ढोका बन्द गरेपछि अन्य दलतिर नजाने बरु नयाँ पार्टी खोल्ने गरी छलफलमा रहेका उनले सोमबार नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्लसँग संवाद गरेका छन् ।
हाल कांग्रेस बीपीका उपसभापतिरहेका मल्लसँग रावलले टोखास्थित आफ्नो निवासमा छलफल गरे । सुदूरपश्चिम प्रदेश सांसद डा. तारा जोशीसहित टोखा पुगेका मल्लले रावलजतिको उचाइको नेताका लागि यो अवस्था आउनुमा दुःख लाग्दो रहेको बताए ।
एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google