
सन्तोष दहाल, ललितपुर । शुक्रबारबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुरको नवौँ राष्ट्रिय अधिवेशनमा पदाधिकारीका लागि आकांंक्षीहरु खुल्न थालेका छन् । यसैबीच ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य (आस्था) ले जिल्ला कमिटी उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।
यसअघि ललितपुर महानगर पार्टी कमिटिको अध्यक्ष रहेर काम गरेकी शाक्य माओवादी पृष्ठभुमिबाट आएकी हुन् । नेकपा विभाजन पश्चात् उनी एमालेमै रहेकी थिइन् । २०७९ को स्थानीय निर्वाचनमा उनी एमालेको तर्फबाट ललितपुर महानगरपालिकाको उपप्रमुख पदमा विजयी भएकी हुन् ।
आफ्नो उम्मेदवारीको विषयमा शाक्यले आफू कसैको प्यानलबाट नभई सबैलाई मिलाउने गरि मध्यस्थकर्ताको रुपमा उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएको बताईन । अध्यक्ष पदमा आकाङ्क्षी रहेकाहरुले आफ्नो तर्फबाट अन्य पदाधिकारी घोषणा गरिरहेको बेला शाक्यले आफू कसैको प्यानलबाट नलड्ने बताईन ।
जनप्रतिनिधि भएर जनताको पक्षमा काम गरिरहेको र पार्टी अधिवेशन आईरहँदा पार्टी र संगठन सुदृढ बनाउनको लागि आफ्नो भूमिका महसुस गर्दै उपाध्यक्षमा दावेदारी प्रस्तुत गरेको उनको भनाई छ । हाम्रो पार्टीको निर्देशक सिद्धान्त जबजले पनि पार्टी र जनप्रतिनिधिले पनि जनताको सेवा गर्ने उल्लेख गरेको भन्दै शाक्यले पार्टीलाई एकढिक्का बनाउँदै ललितपुरमा एमाले पार्टीलाई पहिलो पार्टी बनाउने आफ्नो योजना रहेको सुनाईन।
शुक्रबार उद्घाटन हुने एमाले ललितपुरको नवौं अधिवेशन ३ दिनसम्म चल्नेछ । जसमा अध्यक्षका लागि हालका अध्यक्ष पुरुषोत्तम आचार्य सहित चेतनाथ सञ्जेल र दिनेश कार्की दावेदार छन् । यस्तै उपाध्यक्षमा किशोर केसी, श्याम ब्यन्जनकार, हरिगोबिन्द श्रेष्ठ, अष्टवीर व्यन्जनकार लगायतको चर्चा छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google