जुम्ला पुगेर पूर्वराजाले भने - 'देशको पुरानो गौरव फर्काउनका लागि सुध्रौँ, चेतौँ र राष्ट्रिय सोच बनाऊँ'

दर्पण दैनिक २४ चैत्र २०८०,१६:४२
post

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पुरानो गौरव फर्काउनका लागि जुट्नुपर्ने आवश्यक्ता रहेको बताउँदै कम्मर कसेर अघि बढ्न अपिल गरेका छन् । शनिबार जुम्लाको खलङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न पुगेका पूर्वराजा शाहले कालिकोट, मुगु, हुम्ला, डोल्पाजस्ता जिल्लामा अथाह धन धान्य भए पनि त्यसको सदुपयोग गर्न नसकिएको भन्दै अब जुट्नुपर्ने बेला आएको बताए । 


‘आज देश कता जाँदैछ, तपाईंहरूलाई थाहै छ। हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरता तिर गइरहेका छौँ आफ्नै भूगर्भ भित्र अथाह धन धान्य छ, तर खानका लागि काम खोज्न हामी भौतारी राखेका छौँ । कालिकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन? तर खै? त्यसैले म भन्छु– अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ, देश बनाउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ,ँ उनले अपिल गर्दै भनेका छन् । 

नयाँ समझदारी, संवाद, वार्तालाप र सर्वपक्षीय सम्मेलनको निष्कर्ष निकाल्नुपर्ने पूर्वराजा शाहको भनाइ छ ।  ‘अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऊँ, मार्ग सुधार गरौँ, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ,’ उनले भनेका छन् ।


पूर्वराजा शाहको सम्बोधनः

उपस्थित महिला तथा सज्जनवृन्द,

प्राचीन ऐतिहासिक स्थल जुम्लाको खलङ्गामा आइपुगेर यहाँका स्वाभिमानी जनता जनार्दन सामु उभिन पाउँदा - म गौरव अनुभव गर्दछु। यो सुन्दर स्थलमा उपस्थित भइरहँदा मलाई आफ्ना गौरवशाली पिता पुर्खाको पनि सुखद संस्मरण भइरहेको छ। साँच्चै नै जुम्ला हामीहरूको राष्ट्रियता, हाम्रो भाषा, हाम्रो धर्म संस्कृति र हाम्रो सुन्दर सुसम्पन्न प्रकृतिको दिव्य धरोहर हो।

नेपाल राष्ट्रको एकीकरण हुनु अघि बाइसे चौबीसे राज्य चरणमा पनि जुम्ला, सिञ्जा सभ्यताको केन्द्र स्थलको रूपमा रहेको इतिहास छ। चन्दननाथले पहाड खोपेर तलाउ क्षेत्र खलङ्गामा तलाङ बस्ती बसाएको, धौला र गरल जुम्ल्याहा डाँडा भएकोले जुम्ला नाम रहन गएको ऐतिहासिक तथ्य भेटिन्छ। अनेकौँ अग्ला चुचुरा, भीर, पाखा, खोँच र केही मैदानी खोला खोल्सीले भरिपूर्ण जुम्ला - कर्णाली, तिला र सिँजा नदीद्वारा सिञ्चित उर्वर र वैभवको थलो मानिन्छ। नेपालगञ्ज, दार्चुला, तुला, ताक्लाकोट सम्मको व्यापारिक पहुँच राख्ने यो क्षेत्र - खेतीपाती, भेडा, चौँरी र घोडा पालनका हिसाबले महत्त्वपूर्ण रह्यो। कालो मार्सी धान, स्याउ, ओखर, केशर र अनेक प्रकारका बागवानी र वन्य वनस्पति जन्य जडीबुटी - जुम्लाका आफ्नैपनमा आधारित विशिष्टताहरू हुन्।

कर्णाली महानदी प्रवाहबाट उठेर भरिपूर्ण प्रकृति बोकेको यहाँका पहाड, पर्वत, खाँच, खोला, खोल्सी हेर्दा देख्दा र बुझ्दा लाग्दछ हामी यहाँका वासिन्दा अत्यन्तै सहृदयी, अत्यन्त कर्मनिष्ठ र परस्परमा अत्यन्त आत्मीय छौँ। आत्मीयता तथा राष्ट्रियता नै हाम्रो ठुलो बल हो। अनेकतामा एकता र आफ्नो विरासती ऐतिहासिक गौरवप्रति आस्था नै हाम्रो ठुलो पुँजी हो। कर्णाली सभ्यताले यही यथार्थ उजागर गर्दछ।

आज देश कता जाँदैछ, तपाईंहरूलाई थाहै छ। हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरता तिर गइरहेका छौँ - आफ्नै भूगर्भ भित्र अथाह धन धान्य छ - तर खानका लागि काम खोज्न हामी भौतारी राखेका छौँ। कालिकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन? तर खै? त्यसैले  भन्छु - अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ, देश बनाउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ।

यातायातको विकटता, हावापानीको जटिलता, आर्थिक साधनको कठिनता तथा विपन्नता एवं शिक्षा चेतनाको कमीका कारण आफ्नो श्रम सीप र श्रोतको सही उपयोग जुम्लाले गर्न पाएको छैन। राज्यले यस क्षेत्रको सम्पन्न भरिपूर्ण सम्पदाको समुचित प्रयोगमा जोड दिनु पर्दछ। आफू जन्मे हुर्केको आफ्नो थातथलो छोडेर अन्यत्र बसाइ सर्नु पर्ने, अर्काको देशमा गएर तातो ताप पीडा खप्नु पर्ने अवस्थाको अब अन्त्य हुनुपर्दछ।

आज, हिजो होइन हामी आफै बदलिरहेका छौँ। परिवर्तन साँच्चै पीडादायी भए पनि सधैँ आवश्यक हुन्छ। याद होस्, संसारको पाङ्ग्रा सधैँ आफ्नो गतिमा चलिरहेको हुन्छ। यो संसारमा जे आउँछ त्यो रहँदैन र जाने कुरा हराउँदैन।

अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऊँ, मार्ग सुधार गरौँ, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ।

अन्त्यमा, आफ्ना यिनै शुभ सदाशय राखेर यो समारोह आयोजना गरि मलाई यस्तो सुअवसर प्रदान गर्नु हुने तपाई आयोजकहरू र यस क्षेत्रका उत्साहपूर्ण उपस्थितिका लागि सबैमा धन्यवाद

जय नेपाल।

२०८० चैत्र २४ गते

जुम्ला खलङ्गा

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: