
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे केन्द्रीय परिषद्काे राष्ट्रिय भेला काठमाडाैँमा जारी छ । मंगलबार सुरू भएकाे भेलामा भेलामा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकाेटी विधान संशाेधनकाे प्रस्ताव पेस गरेका छन् ।
प्रस्तावमा एक-एक महिलासहित ३/३ जना उपसभापति र सहमहामन्त्री प्रस्ताव गरिएकाे छ । केन्द्रीय कार्यसमितिमा हाल स्वर्णिम वाग्ले र डोलप्रसाद अर्याल दुवै पुरूष उपसभापति छन् ।
काेषाध्यक्ष र प्रवक्ताबाहेक सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने प्रस्ताव पनि गरिएकाे छ । रास्वपाकाे केन्द्रीय सार्वजनिक मामिला विभागले भेला स्थलमै संयाेजन गरेकाे रक्तदानमा ९२ जनाले रक्तदान गरेका छन् । भेलास्थलमा स्वदेशी उत्पादनकाे प्रदर्शनी/बिक्री कक्ष पनि राखिएकाे छ।
भेलाको दोस्रो दिन भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्ताव उपर समूहगत छलफल हुनेछ। भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपरान्ह सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तालिका छ । सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला भोलि सकिनेछ ।
भेला बुधबार निरन्तर रहने गरी आजलाई स्थगित गरिएकाे छ । भेलामा देशभर र प्रवाससमेतका गरी १ हजार ५ सय प्रतिनिधि सहभागी छन् ।
भेलाकाे पहिलाे दिन प्रदेश समितिका संयाेजकहरूले रिपोर्टिङ गरेका छन् । काेसीका सभापित राजेश तिमल्सिना, मधेसका तपेश्वर यादव, बागमतीका अच्युतम लामिछाने, गण्डकीका राजन गाैतम, लुम्बिनीका देवराज पाठक, कर्णालीका मदन खड्का र सुदूरपश्चिमका प्रकाश विष्टले विचार, संगठन, कार्यशैली र जनसराेकारका मुद्दामा पार्टीले लिनुपर्ने नीतिबारे पनि सुझाव दिए ।
आज नै 'ओपन सेसन'अन्तर्गत कम्तीमा ५० जना प्रतिनिधिले धारणा राखेको रास्वपाले जनाएको छ । उनीहरूले नेतृत्वकाे रक्षा गर्नुपर्ने, सभापतिलाई सहज हुने गरी टीम बनाउन दिनुपर्ने, पार्टी विस्तारलाई तीव्रता दिनुपर्ने, तल्लाे स्तरका संगठन बलियाे बनाउनुपर्ने, केन्द्रीय समिति प्रत्यक्ष निर्वाचित हुनुपर्ने, समितिहरू समावेशी हुनुपर्ने, पुराना दलकाे जस्ताे साेच र कार्यशैली हुन नहुनेलगायत सुझाव दिए ।
आज नै काेषाध्यक्ष लिमा अधिकारी र लेखा आयाेगका प्रमुख अभिषेक घिमिरेले आर्थिक प्रतिवेदन पेस गरे । सदस्यता शुल्क स्वेच्छिक बनाउँदा पार्टीकाे स्रोत घटेकाे तथ्य राखिएकाे प्रतिवेदनमा आर्थिक सुदृढीकरणका लागि 'पार्टी पिलर'काे अवधारणा अघि सारिएकाे छ ।
आज नै अनुशासन आयाेगका सभापति भरतमणि देवकाेटाले आयाेगकाे प्रतिवेदन पेस गरे । यस्तै, उपसभापति स्वर्णिम वाग्लेले 'नीति-विचार' प्रतिवेदन पेस गरे । वाग्लेले २०८० मंसिरमा जलेश्वर बैठकले पारित गरेकाे 'नीति-विचार' प्रस्तावनाकाे संक्षिप्त व्याख्यासहित प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले संक्षिप्त प्रतिवेदन छलफलमा लैजाने र पहिलाे महाधिवेशनबाट पूर्णता दिइने जानकारी पनि दिए । २०८२ काे वैशाखमा महाधिवेशन गर्ने रास्वपाकाे प्रस्ताव छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google