काठमाडौँ । नेपाली टोली मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बुधवार खेलिएको क्वार्टरफाइनल खेलमा कुवेतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको कुवेतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७३ रन बनाएको थियो । त्यसपछि वर्षाका कारणले नेपालले १२ ओभरमा ५० रन बनाउनुपर्ने नयाँ लक्ष्य पाएको थियो ।
नेपालले सेमिफाइनलमा मलेसियाको सामना गर्नेछ । मलेसिया भने बुधवार नै खेलिएको अर्को क्वार्टरफाइनल खेलमा जापानलाई १६ रनले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
नेपाली टोली प्रारम्भिक चरणमा तीनवटै खेल जित्दै समूह ‘डी’ को विजेताका रूपमा क्वार्टर फाइनलमा पुगेको हो । नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई पनि आठ विकेटले पराजित गरेको थियो ।
नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्समाथि दुई सय १४ रनको कीर्तिमानी जित हासिल गरेको थियो । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो ।
यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् ।
फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिताको सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल फेब्रुअरी १८ तारिखमा हुनेछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google