काठमाडौं । आइसिसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत पूर्वी एसिया-प्रशान्त उपक्षेत्रीय छनोट–ए अन्तर्गतको खेलमा समोआले इतिहास रचेको छ । समोआका ड्यारियस भिसेरले पुरुष टी-२० अन्तर्राष्ट्रियको एकै ओभरमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान तोड्दा समोआले एकै ओभरमा सर्वाधिक रन बनाउने कीर्तिमान समेत बनाउन सफल भयो ।
भिसेरले भानुआटुका तीव्र गतिका बलर नलिनविरूद्ध खेलको १५औं ओभरमा कुल ३९ रन जोड्न सफल भए । ओभरमा उनले सुरुवाती तीन बलमा लगातार छक्का प्रहार गरेका थिए । चौथो बल नो बल हुँदा उनले फ्रिहिटमा अर्को छक्का प्रहार गरे । पाँचौ बल डट भएको थियो । तर छैटौं बल फेरि नो बल भयो । त्यसपछिको बल पनि नो बल हुँदा उनले छक्का प्रहार गरे ।
फेरि फ्रिहिटमा छक्का प्रहार गर्दा सो ओभरमा कुल ३९ रन बनाएको थियो । जसमा भिसेरले ६ छक्का प्रहार गर्दा ३ रन तीन वटा नो बलबाट प्राप्त भयो ।
यससँगै यसअघि एकै ओभरमा बनेको ३६ रनको कीर्तिमान भंग भयो ।
सन् २००७ को पहिलो टी-२० विश्वकपमा भारतका युवराज सिंहले एकै ओभरमा ६ छक्का प्रहार गरेर कीर्तिमान बनाएका थिए । वेस्ट इन्डिजका केइरन पोलार्ड (२०२१), निकोलास पूरन (२०२४), नेपालका दीपेन्द्रसिंह ऐरी (२०२४), भारतका रोहित शर्मा/रिंकु सिंह (२०२४ संयुक्त) ले पनि एकै ओभरमा ३६ रन जोडेका थिए । नेपालका दीपेन्द्रले कतारका कामरान खानविरूद्ध एसिसी प्रिमियर लिगको खेलमा एकै ओभरमा छ छक्का प्रहार गरेका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google